पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा, कुन प्रदेशमा कति भयो रोपाइँ ?


नेपालमा ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो ।

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । मन्त्रालयका सूचना अधिकृत महानन्द जोशी यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताउँछन् ।

“हालसम्म अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ”, उनले भने, “कतिपय स्थानमा राम्रोसँग वर्षा भएको छैन, कहिले वर्षा होला र धान रोपौँला भनेर किसान पर्खाइमा छन् ।”

मन्त्रालयको तथ्यांकअनुसार कोसी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ ५ दशमलव ६ प्रतिशत भएको छ । उक्त प्रदेशमा गत वर्ष असार १० गतेसम्म ६ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको थियो । मधेस प्रदेशमा भने गत वर्ष र यस वर्ष बराबर नै रोपाइँ भएको पाइएको छ । सो प्रदेशमा यस वर्ष २ दशमलव ५ प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्यांक छ । गत वर्ष सोही अवधिमा २ दशमलव ५ प्रतिशत नै रोपाइँ भएको थियो ।

वाग्मती प्रदेशमा यस वर्ष ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा १८ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष यही समयमा ६ दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ । कर्णाली प्रदेशमा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३ दशमलव ९ प्रशित रोपाइँ भएको छ ।

सुदूरपश्चिममा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ छ । सूचना अधिकृत जोशीका अनुसार साउन महिनाको अन्तिमसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मधुरा यादवले धान उत्पादन वृद्धिका लागि मुलुकका सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न आवश्यक रहेको बताए ।

“सबै स्थानमा सिँचाइ सुविधा पुग्न नसक्दा कहिले रोपाइँ नै नहुने कहिले ढिलाइ हुने त कहिले बीउ नै राख्न नपाउने अवस्था छ, रोपाइँपछि पनि सिँचाइको सुविधा नहुँदा धान उत्पादनमा कमी आएको छ”, उनले भने, “मुलुकको शतप्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन सके धान उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन गर्न सकिन्छ ।”

मन्त्रालयका अनुसार आव २०८०\०८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख बराबरको धानको बीउ आयात गरिएको छ । सो अवधिमा करिब रु ११ अर्ब ५५ करोडको धान आयात गरिएको छ । सो अवधिमा रु आठ अर्ब ६९ करोड बराबरको चामल तथा नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष तीन दिनअगावै मुलुकको पूर्वी क्षेत्रबाट मनसुन सुरु भएको थियो । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।