गुल्मी, स्याङ्जा र बागलुङमा पहिरोमा पुरिएर नौजनाको मृत्यु


गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। मालिका गाउँपालिका-६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ। घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो।

स्याङ्जामा घर पुरिँदा आमाछोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ। गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो।

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए। ुराति सुतेका बेला पहिरो खसेको होु, उनले भने। घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए।

पहिरोले ढुंगामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ। पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ।

बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा दुईजना घाइते भएका छन्।

गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ। गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।