फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्री नियुक्त


नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुन: ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । देवकोटाले सपथ पनि लिइसकेका छन् ।

देवकोटा दोस्रोपटक गण्डकीको मन्त्री बनेका हुन् । गएको जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो ।

माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँस गरी सभालाई जानकारी गराएका थिए ।

माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश भएको थियो । सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।