कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा ७.१३ प्रतिशत

0
Shares

आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा ७.१३ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा ७.० प्रतिशत रहेको थियो ।

त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आर्थिक वर्ष २०८०/८१ मा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व.२०७९/८० मा १.५२ प्रतिशत रहने संसोधित अनुमान गरिएकोछ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाहरुको स्थलगत तथा गैर–स्थलगतरुपमा अध्ययन गरी आर्थिक वर्ष २०८०÷८१ को अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरिएको हो ।

समष्टिगत आर्थिक स्थिति राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ भने आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

त्यसैगरी, गत आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा र आधारभूत मूल्यमा क्रमशः १.९५ प्रतिशत र २.३१ प्रतिशतलेवृद्धि हुने संशोधित अनुमान रहेको छ ।

समीक्षा अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम्फलफूल तथा मसला) ले ढाकेको भू– क्षेत्र ४.६८ प्रतिशतले ह्रास आएको छ भने यस्ता बालीको उत्पादन ०.९२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र तेलहनको उत्पादन क्रमश २८.४१ प्रतिशत र २१.१६४ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, तरकारी उत्पादनमा ६.९० प्रतिशतले वृद्धि भएको छ भने फलफूल तथा मसला उत्पादन ३.१३ प्रतिशतले बढेको छ ।पशुजन्य उत्पादन अन्तर्गत दूध ८.५२ प्रतिशत, मासु ७.२९ प्रतिशत र अण्डा ४.११ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.९५ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । आ.व.२०७९÷८० को असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा ८.०७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४९.९८ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा रोजिन, चामल, साबुन र ईटाको उत्पादन वृद्धि भएको छ भने गँहुको पीठो, चिनी र तोरीको तेलको उत्पादनमा ह्रास आएको छ ।

समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १७.९४ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ६.१८ प्रतिशतले घट्न गई रु.२५ अर्ब २२ करोड ९४ लाख पुगेको छ ।

समीक्षा अवधिमा पर्यटकस्तरीय होटल तथा लजको संख्या ४.३५ प्रतिशतले बढ्न गई ४८ पुगेकोछ भने होटल शैयाको संख्या १.०५ प्रतिशतले बढेर १ हजार ६ सय ३५ पुगेकोछ ।  समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन संख्या १९.८६ प्रतिशतले बढेको छ भने रजिष्ट्रेशन राजस्व ३.३५ प्रतिशतले बढेको छ ।

यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको निक्षेप २०८० असार मसान्तको तुलनामा १.९१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ७.२८ प्रतिशतले ह्रास आएको छ ।

समीक्षा अवधिमा यातायात साधन संख्या २.७७ प्रतिशतले वृद्धि भई १ लाख ७२ हजार ६ सय २७ पुगेको छ । समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ७१.११ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन्।

समीक्षा अवधिसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट कुल १७१ मेगावाट विद्युत उत्पादन भएको छ । समीक्षा अवधिमा यस प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या १० हजार ३ सय ८९ पुगेकोछ जुन राष्ट्रिय संख्याको तुलनामा ३.०५ प्रतिशत हुन आउँछ ।

आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सुदूरपश्चिममा औषत रोजगारी दिन ६५.७७ रहेको छ भने जम्मा रोजगारी दिन ४७ हजार ४२२ पुगेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये समीक्षा अवधिमा १५.७६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये ११.९९ प्रतिशत खर्च भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।