सातवटै प्रदेशमा वर्षा, हवाई यातायात सेवा प्रभावित हुने सम्भावना


आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज भारी र धेरै भारी वर्षको कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।