बैंकिङ प्रणालीको निक्षेप ६३ खर्ब नाघ्यो, लगानी गर्न नसकेपछि राष्ट्र बैंकमा थुप्रियो २ खर्ब

0
Shares

बैंकिङ प्रणालीको निक्षेप ६३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार १२ गते बुधबारसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

केन्द्रीय बैंकका अनुसार गत बुधबारसम्म वाणिज्य बैंकहरुमा ५५ खर्ब ८१ अर्ब निक्षेप संकलन भएको छ भने अन्य वित्तीय संस्थामा ७ खर्ब २१ अर्ब निक्षेप जम्मा भएको छ । यो अवधिमा कुल ५१ खर्ब ४५ अर्ब कर्जा लगानी भएको छ । जसमध्ये वाणिज्य बैंकहरुले ४५ खर्ब ५१ अर्ब तथा अन्य वित्तीय संस्थाले ५ खर्ब ९४ अर्ब कर्जा लगानी गरेका छन । यस अवधिमसम्म वित्तीय प्रणालीको सीडी रेसियो ७९.५१ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।

राष्ट्र बैंकका अनुसार असार १६ गते आइतबारसम्म बैंकिङ प्रणालीमा ८४ अर्ब २८ करोड ६९ लाख अधिक तरलता रहेको छ ।

आर्थिक वर्षको अन्तिम महिनामा सरकारी खर्च बढेसंगै बैंकहरु समेत कर्जा असुलीमा केन्द्रीत हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरीदै गएको हो । बैंकहरुले कर्जा लगानी गर्न नसक्ने, सरकारी खर्च बढ्ने तथा रेमिट्यान्स आप्रबाहमा देखिएको निरन्तरको सुधारले अधिक तरलताको समस्या पेचिलो बनेको हो।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि आइतबार बैंक तथा वित्तीय संस्थाले एक खर्ब २५ करोड १५ करोड रुपैयाँ बराबरको तरलता केन्द्रीय बैंकमा राखेका छन । स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा राखेको पैसा हालसम्मकै धेरै हो ।

आइतबार करिब ६८ अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएकाले पनि स्थायी निक्षेप धेरै भएको केन्द्रीय बैंकका अधिकारी बताउछन् । बैंकमा लगानीयोग्य रकम बढे पछि अन्तर बैंक ब्याजदर पनि सीमामा ल्याउन स्थायी निक्षेप सुविधा मार्फत राष्ट्र बैंकले उक्त रकम तानेपछि अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

गत साताको बिहीबार र शुक्रबार ६५ अर्ब रुपैयाँ बरावरको स्थायी निक्षेप परिपक्क भएको थियो । त्यसका साथै गत बिहीबारको करिब ६६ अर्ब रुपैयाँ परिपक्क भएकाले पनि आइतबार एक खर्ब २५ अर्बको स्थायी निक्षेप उपयोग भएको हो । आइतबारको स्थायी निक्षेप संगै केन्द्रीय बैंकसंग बैंक तथा वित्तीय संस्थाको २ खर्ब १५ अर्ब १५ करोड रुपैयाँ बक्यौता रहेको छ । केन्द्रीय बैंकमा २ खर्ब भन्दा धेरै बक्यौता रहेपछि अन्तर बैंक ब्याजदर ३ प्रतिशतको हाराहारीमा पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।