श्रमादान रोजगार मेलामा साढे ८५ लाख खर्च, मन्त्रालयसँग छैन रोजगारी पाएकाको तथ्यांक


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलाई एकै ठाउँमा जोड्न सातै प्रदेशमा आयोजना गरेको श्रमाधान रोजगार मेलामा ८५ लाख रुपैयाँँ खर्च भएको छ । मन्त्रालयले जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला सञ्चालन गरेको थियो । उक्त रोजगार मेलामा कूल ८५ लाख ६३ हजार ५१७ रुपैयाँ खर्च भएको हो ।

जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मेलाको उद्घाटन गरेका थिए । रोजगारीका अवसरहरू सृजना गर्ने, सीप विकासको कार्यलाई प्रवद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्नृे, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने र रोजगदारदाता तथा रोजगारी खोज्नेहरुलाई एकै स्थानमा ल्याई आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला सञ्चालन भएको थियो ।

कुन प्रदेशमा कति खर्च ?

सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै खर्च बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशमा १९ लाख ९५ हजार रुपैयाँ बजेट मध्ये १९ लाख ४७ हजार १०० रुपैयाँ खर्च भएको हो ।

यस्तै बागमती पछि सबैभन्दा धेरै खर्च भएको प्रदेश मधेस प्रदेश हो । मधेस प्रदेशमा १७ लाख रुपैयाँ बजेट मध्ये १३ लाख ७८ हजार ७५० रुपैयाँ खर्च भएको छ ।

यसैगरी, सुदुरपश्चिम प्रदेशमा १३ लाख ९२ हजार ५०० रुपैयाँ बजेट आएकोमा १३ लाख १९ हजार १६७ रुपैयाँ खर्च भएको छ भने कोशी प्रदेशमा कुल ११ लाख ५४ हजार रुपैयाँ बजेट मध्ये १० लाख ५५ हजार ५०० रुपैयाँ खर्च भएको छ ।

यस्तै लुम्बीनी प्रदेशमा ११ लाख ६५ हजार रुपैयाँ बजेट आएकोमा १० लाख ५५ रुपैयाँ खर्च भएको छ भने कर्णाली प्रदेशमा ९ लाख बजेटमध्ये ९ लाख ३० हजार रुपैयाँ खर्च भएको छ । यस्तै गण्डकी प्रदेशमा ९ लाख रुपैयाँ बजेटमध्ये ८ लाख ७८ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयसँग छैन रोजगारी पाएकाको तथ्यांक

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मेलामा रोजगारदाताले प्रतिबद्धता जनाए अनुसार रोजगारी प्रदान भए÷नभएको रेकर्ड राख्ने बताए।

तत्काल रोजषरी पाए नपाएको तथ्यांक नभएको बताउँदै उनले भने, ’मेला मात्रै सम्पन्न भयो तर, रोजगारदाताले प्रतिबद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको विषयमा मन्त्रालयले निरन्तर जानकारी लिनेछ,’ ।

रोजगारीका आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिने उनको भनाइ छ ।  श्रम मन्त्री अर्यालले मेलामा १७ हजार ९ सय २१ जनाले रोजगारीको लागि आवेदन दिएको बताए । जसमध्ये रोजगारदाताले १४ हजार ७ सय ८८ जनालाई रोजगार दिने प्रतिबद्धता जनाएका छन् ।

यस्तो बेरोजगारी दरको तथ्यांक

राष्ट्रिय जनगणना २०७८का अनुसार नेपालमा आर्थिक रूपमा सक्रिय हुने नेपालीको संख्या १ करोड ४९ लाख ८३ हजार रहेको छ । उक्त संख्या १० वा सोभन्दा माथि उमेरको हो ।

तथ्यांकअनुसार उक्त संख्यामध्ये सबैभन्दा बढी ५५.३ प्रतिशत नेपाली आफ्नै काममा संलग्न हुने गरेको पाइएको छ । त्यस्तै २८ प्रतिशतले अरुको काम गर्ने गरेको देखिएको छ भने १४.५ प्रतिशतले आफनै घरमा सघाउने गरेका छन् । ०.१ प्रतिशतले गर्ने कामबारे भने खुलेको छैन ।

१० वर्ष वा सोभन्दा बढी उमेरका २ करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरुमध्ये १ करोड ५६ लाख ८९ हजार ७७७ जना (६५.५ प्रतिशत) आर्थिक रुपले सक्रिय छन् भने ८२ लाख ११ हजार जना (३४.३ प्रतिशत) आर्थिक रुपले निष्क्रिय रहेका छन् जबकी आर्थिक रुपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरुको संख्या ५८ हजार ७९ जना रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका १ करोड ५६ लाख ८९ हजार ७७७ जना आर्थिक रुपले सक्रिय व्यक्तिहरुमध्ये १ करोड १० लाख ३८ हजार १०५ जना (७०.३५ प्रतिशत) आर्थिकरुपले सक्रिय र ४६ लाख ५१ हजार ६७२ जना (२९.६५ प्रतिशत) आर्थिक रुपले निष्क्रिय रहेका छन् ।

१० वर्ष वा सोभन्दा बढी उमेरका १ करोड १० लाख ३८ हजार १०५ जना आर्थिक रुपले सक्रिय व्यक्तिहरुमध्ये १ करोड २ लाख ७० हजार ४४७ जना (९३.०५ प्रतिशत) रोजगार र ७ लाख ६७ हजार ६५८ जना (६.९५ प्रतिशत) बेरोजगार रहेका छन् ।

उता, अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ) को हालैको तथ्याड्ढ अनुसार, नेपालमा ३० वर्ष भन्दा कम उमेरको कुल जनसंख्या मध्ये बेरोजगारी दर ६३.७ प्रतिशत छ भने १५–२९ वर्ष उमेरका युवाहरूको बेरोजगारी दर १९.२ प्रतिशत छ । यस्तै, श्रमशक्ति सर्वेक्षण (तेस्रो) ले नेपालमा बेरोजगारीको दर ११.४ प्रतिशत रहेको देखाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।