बालेनले देउवा र ओलीलाई भने- ‘काले काले मिलेर खाऊँ भाले !’


काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति कटाक्ष गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आपसमासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले काले काले मिलेर खाऊँ भाले भन्दै कटाक्ष गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,“यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले,”। दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै उनले आफ्नै पोस्टमा गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएको आश्चर्य व्यक्त गर्दै कमेन्ट पनि गरेका छन् ।

उनले भनेका छन्, ‘गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएछ ! नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।’

मेयर बालेनले देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी नभएको भन्दै औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ? भन्दै चिन्ता व्यक्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।