मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित


रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन्।

आर्थिक वर्ष २०७५\७६ देखि कार्यक्रम लागु भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तवले जानकारी दिइन् ।उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट ६ करोड ३४ लाख ७१ हजार चारसय रूपैयाँ खर्च भएको छ।

आव २०७५\७६ मा स्वीकृत ४३ लाख रूपैयाँ बजेटबाट चार सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका थिए। यस्तै आव २०७६\७७ मा ७१ लाख ८० हजार बजेटबाट चार सय ५० जनाले २८ दिन, आव २०७७\७८ मा दुई करोड ४६ लाख ६१ हजार बजेटबाट सात सय ७२ व्यक्तिले ५७ दिन, आव २०७८\७९ मा दुई करोड ५८ लाख १४ हजार स्वीस्कृत बजेटबाट आठ सय ८९ व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेका रोजगार संयोजक श्रीवास्तवले जानकारी दिइन् ।

आव २०७९\८० मा एक करोड ८९ लाख २४ हजार रूपैयाँ बजेटमा तीन सय ६७ व्यक्तिले ७९ दिन र चालु आव २०८०\८१ मा ५८ लाख २५ हजार रूपैयाँ बजेटबाट ९२ व्यक्तिले ९० दिन रोजगार प्राप्त गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो, खेलकुद मैदान निर्माण, घेराबारलगायतका काम भएका छन्। कार्यक्रमबाट स्थानीयवासीलाई आर्थिक रुपमा सहज भएको नगरपालिकाले जनाएको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।