बाढीले सडक बगाउँदा मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प


वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताए ।

वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्याएको छ ।

गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको छ । यद्यपि, पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।