रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको जारी विज्ञप्तिमा भनिएको छ।

‘महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५।७ (क) र (ख) तथा धारा ५६९१० तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५।२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको छ,’ पत्रमा भनिएको छ ।

बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो । महामन्त्री ढकाललाई कारबाहीसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ । त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको रास्वपाले जनाएको छ ।

बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसी आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।