जेठमा अवधि नसकिएका सवा एक अर्ब मूल्यको बीमालेख त्याग

0
Shares

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै परिपक्व अवधि बाँकी रहेका १ अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएका छन् । तथ्याङ्क अनुसार जेठ महिनामा ग्राहकहरूले कुल १० हजार ९३५ ओटा बीमा पोलिसी त्याग (समर्पण) गरेका हुन् ।

चालू आर्थिक वर्षको जेठ महिनामा गत आवको सोहि अवधिको तुलनामा जीवन बीमा सरेन्डर दर १७ प्रतिशतले बढेको हो । गत वर्षको जेठ महिनामा १ अर्ब ३ करोड बराबरको बीमा सरेन्डर भएको थियो । 

सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै बीमालेख सरेण्डर भएका छन् । कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा लेख अवधि नसकिँदै निरन्तता नदिने गरी रद्द गरेका हुन्। यस कम्पनीको २ हजार २०९ ओटा पोलिसी सरेण्डर भएको छ ।

यसैगरी दोस्रो ठूलो सरेण्डर लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडमा भएको छ । उक्त कम्पनीमा एक महिना अवधिमा ३५ करोड ४९ लाख रुपैयाँ बराबरको ३ हजार ४६३ ओटा पोलिसी सरेन्डर भएको छ । राष्ट्रिय बीमा कम्पनीको पनि ११ करोड ३० लाख रुपैयाँ बराबरका १ हजार ४०८ ओटा बीमा बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको जेठ महिनाको तथ्यांक अनुसार जेठ महिनामा दश करोड भन्दा बढी रुपैयाँको बीमा पोलिसी सरेन्डर हुने जीवन बीमा कम्पनीको संख्या तीन ओटा रहेको छ ।

यस महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६३ लाख रुपैयाँ मूल्यको ६३६ ओटा बीमा बीमालेख सरेन्डर भएको छ । धेरै पोलिसी सरेन्डर हुने कम्पनीको पाँचौं नम्बरमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको रहेको छ । सो कम्पनीको ६ करोड ९७ लाख रुपैयाँ बराबरको ५९८ ओटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङ्क छ । यस्तै जेठ महिनामा एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाख रुपैयाँ बराबरको ७७६ ओटा र हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाख रुपैयाँ बराबरको ५६८ ओटा बीमा पोलिसी सरेन्डर भएको छ ।

समीक्षा अवधिमा मेट लाइफ इन्स्योरेन्सको ४ करोड २४ लाख रुपैयाँ बराबरको ३९२ ओटा, प्रभु महालक्ष्मी लाइफको ३ करोड ४२ लाख रुपैयाँको १८१ ओटा, सानिमा रिलायन्स लाइफको १ करोड ६३ लाख रुपैयाँ बरारबको १२० ओटा, आइएमई लाइफ इन्स्योरेन्सको १ करोड ३२ लाख रुपैयाँ बराबरको १४७ ओटा, सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड २३ लाख रुपैयाँको २४६ ओटा बीमालेख सरेन्डर भएका छन् । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जेठ महिनामा ९१ लाख रुपैयाँ बराबरको १३४ ओटा बीमा पोलिसी सरेन्डर भएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले सबैभन्दा कम बीमालेख त्याग गरेका छन् । जेठ महिनामा कम्पनीको ४४ लाख रुपैयाँ बराबरको ५७ ओटा बीमा पोलिसी सरेन्डर भएको हो । सरेन्डर रकम र संख्या दुबैमा कम्पनीमा सबैभन्दा कम त्याग भएको तथ्याङ्क छ ।

किन बढ्दैछ बीमालेख समर्पण ?

पछिल्लो समय मुलुकको अर्थतन्त्र मन्दीउन्मुख हुँदा र मूल्य वृद्धि उच्च हुँदा मानिसहरूको क्रयशक्ति घटेको छ । आम्दानीको तुलनामा खर्च बढेको छ । धेरैले यही कारण पनि यसरी बीमा लेख बीचमै रद्द भएको हुनसक्ने बीमकहरु बताउँछन् । ग्राहकहरूको क्रयशक्तिमा आएको कमी, युवा विदेशिने क्रम बढेको कारण पनि केही हदसम्म भने बीमालेख समर्पण भएको उनीहरुको बुझाई छ ।

बीमा विज्ञहरु आर्थिक मन्दीभन्दा केही अभिकर्ताहरूको बदमासीको कारण समेत ग्राहकहरूले बीचमै बीमालेख समर्पण गरिरहेको बताउँछन् । अभिकर्ताहरूले यसअघि रहेको एकभन्दा बढी कम्पनीको बीमालेख बिक्री गर्न पाउने व्यवस्था र उनीहरुले पाउने कमिसनका कारण पनि समर्पण गराउने समस्या रहँदै आएको छ । पछिल्लो मिति (ब्याक डेट) राखेर बीमा लेख जारी गर्ने प्रवृत्ति, एक वर्षमै बीमा लेखको आधारमा ग्राहकले कर्जा पाउने व्यवस्था र अभिकर्ताले एकभन्दा बढी कम्पनीको लागि बीमालेख बिक्री गर्न सक्ने व्यवस्थाको कारण यो समस्या धेरै बढेको बुझाइ छ ।

यद्यपी बीमा प्राधिकरणले अभिकर्ताको बदमासी रोक्न डेढ वर्षअघि यसमा कडाइ गरेको छ । अहिले पछिल्लो मिति (ब्याक डेट) राखेर बीमालेख जारी गर्न पाइँदैन । अब बीमालेख जारी भएपछि ग्राहकले कम्तिमा तीन वर्ष नभई समर्पण गर्न पाउँदैनन् भने यो अवधि नपुग्दासम्म बीमालेखको धितोमा कर्जा समेत नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, अभिकर्ताहरूले पहिले जसरी कर्जा समेत लिन पाउँदैनन् भने एउटा अभिकर्ताले एउटा कम्पनीको बीमालेख मात्रै बिक्री गर्न पाउँछ ।

अभिकर्ताहरूले बीमालेख बिक्री गरेपछि सो बापत पहिलो प्रिमियम शुल्कमा २५ प्रतिशतसम्म र प्रोत्साहन शुल्कको रुपमा १८ प्रतिशतसम्म पाउँछन् । बीमालेखको अवधि बढ्दै जाँदा यो दर घट्दै जान्छ । यही कारण पनि अभिकर्ताहरूले ग्राहकलाई फकाएर पुरानो बीमालेख समर्पण गर्न लगाउने र नयाँ कम्पनीको बीमालेख बिक्री गर्ने गर्दै आएका थिए । अहिले एउटै कम्पनीको मात्रै बीमालेख बिक्री गर्न पाउने नियम लागू भएसँगै अभिकर्ताहरूले आफूले काम गर्ने सोही कम्पनीकै बीमा योजनामा ग्राहकलाई आबद्ध गराइरहेकोले पनि समर्पण केही बढेको हो। त्यसैले आगामी दिनमा समर्पण हुने दरमा केही न केही कमी आउँदै जाने अनुमान प्राधिकरणको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।