मन्थली विमानस्थलमा थपिँदै पूर्वाधार, उडान संख्या २० प्रतिशतले बढ्यो : पर्यटनमन्त्री


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताएका छन्।

रामेछापको मन्थली नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘मन्थली पर्यटन प्रवर्द्धन’कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले विगतको तुलनामा मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिएको बताए।

‘विमानस्थलमा समयानुकूल सुधार भएपछि यहाँबाट विगतमा भन्दा उडान सङ्ख्या २० प्रतिशतले बढेको छ, विमानस्थलमा पूर्वाधार थपिँदै गएको छु,’ उनले भने।

मन्त्री तामाङले नागरिक उड्डयन प्राधिकरणलगायत कार्यालयको बजेट निर्माण हुने क्रममा रहेकाले उक्त विमानस्थल प्राथमिकतामा राख्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। ओझेलमा परेका देशभरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने मन्त्री तामाङले बताए।

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नयाँ पूर्वाधार निर्माणका कारण मौलिक परम्परा र सम्पदा मासिँदै गएको बताए। उनले पर्यटकीय क्षेत्रको विकास र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकार लागेको उल्लेख गरे। धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र मन्थलीको विकासमा बागमती प्रदेशले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थलीलाई पर्यटकीय केन्द्र बनाउन स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न खोजेको बताए। उनले खुम्बु क्षेत्रको प्रवेशद्वार मन्थली विमानस्थल, खाँडादेवी, शैलुङ र कालिञ्चोकमा जाने पर्यटकलाई मन्थलीसँग जोड्न गाउँपालिकाले काम गरिरहेको उल्लेख गरे।

नेपालको बाटो हुँदै भारत-चीन जोड्ने ‘मिड प्वाइन्ट’का रूपमा रहेको मन्थलीले सुनकोशी मरिण डाइभर्सन, साहित्यिक पर्यटन, कृषि तथा वन पर्यटन, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमार्फत लाभ लिन खोजेको नगरप्रमुख श्रेष्ठले बताए। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०८१, बिहीबार  १४ : ३१ बजे