उपसभामुख राना र चीनका विदेशमन्त्री यी बिच भेटवार्ता, ट्रान्स हिमालयन रेलवे कार्यान्वयनमा जोड


उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यी बिच तिब्बतमा भेटवार्ता भएको छ । चीनका विदेशमन्त्री वाङ यी र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुगेकी उपसभामुख राना बिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्। “नेपाल चीनको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकी हो। यसरी हामी चीनसँगको सम्बन्धलाई उच्च महत्त्व र प्राथमिकता दिन्छौँ।”, उनले भनिन्,“नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ। नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ ।”

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निशर्त सम्मानको नेपालले सधैँ कदर गर्ने पनि उपसभामुख रानाले बताइन्।

भेटका क्रममा उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न गम्भीरताका साथ काम गरिरहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने प्रक्रिया सांसदबाट छिट्टै पूरा हुनेमा आशावादी रहेका छौ भनिन् । नेपालको ध्यान ध्यान समृद्धिको लागि दिगो, समावेशी र उच्च आर्थिक वृद्धि ल्याउनेतर्फ केन्द्रित रहेको भनाई उनको थियो ।

अर्को प्रसङ्गमा उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन् । उनले हिमालय क्षेत्रका देशहरूका बिचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रवर्द्धन गर्न र आपसी सहयोग विकास गर्न महत्त्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने विश्वास पनि व्यक्त गरिन् । 

“ट्रान्स हिमालयन फोरम यस क्षेत्रका देशहरूका बिचमा थप सहकार्यका लागि मार्ग प्रशस्त गर्नका लागि व्यापक सम्भावना र अवसरहरू प्रदान गर्नेछ ।”, उनले भनिन्, “यो फोरमले बीआरआईलाई मात्र नभई देशहरूबिचको व्यापार, पारवहन र लगानीलगायतका सामाजिक–आर्थिक सहकार्यलाई पनि प्रवर्द्धन गर्नेछ ।” ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठुला परियोजनाहरूलाई कार्यान्वयनको आवश्यकता औँल्याउँदै उनले यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक हुने बताइन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।