ज्योति विकास बैंकको वरिष्ठ नायब सीईओ र सहायक महाप्रबन्धक पदमा बराल र थापाको पदोन्नति


ज्योति विकास बैंकले रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। कम्पनीले आगामी साउन १ गतेबाट लागू हुने गरि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव बोकेका नव-नियुक्त वरिष्ठ नायब सीईओ बराल विगत १६ महिनादेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्।

चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एशिया बैंकको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव छ। उनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्व सञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटलको अध्यक्ष पनि छन् ।

यसका साथै, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव९नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा शुरुवात गरि विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन्।

विगत ७ वर्षदेखि यस विकास बैंकमा आवद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारिकरण अधिकृत, मानव संशाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेको कम्पनीले बताएको छ । कम्पनीले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।