बागमती सरकारबाट बाहिरियो एमाले, पाँच मन्त्रीद्वारा राजीनामा


बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहित वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन् ।

आर्थिक मन्त्री थपलियाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । उनले सो अवसरमा सहमतिको सरकार गठनमा सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले सरकारमा बसेर सहकार्य गरेको प्रति धन्यवाद दिदै संविधानमा भएको व्यवस्था अनुसार प्रदेश सभा बैठकबाट विश्वासको मत लिने बताए । उनले विश्वासको मत लिने समय भने खुलाएका छैनन् ।

गत फागुनमा नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै एमालेलगायतका दलहरुको समर्थनपछि चैत १७ गते एमालेका थपलिया मन्त्रीमा नियुक्ति भएका थिए । एमाले मन्त्रीहरुले राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तासँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।