अरनिको राजमार्ग पुनः अवरुद्ध


अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनीको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो । सडकको उक्त पहिरो पन्छाएर १४ घण्टापछि मंगलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।