पोखरामा निमार्णधिन पाँच तारे होटल ’बाराही सेदी’ को ६५ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न

0
Shares

बाराही सेदी कम्पनीले पोखरामा ३ अर्ब १० करोड लगानीमा पाँच तारे होटल निर्माण गरिरहेकोे छ । उक्त होटल सन् २०२५ देखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको छ ।

निर्माण प्रक्रियामा रहेको होटलको जुलाई महिना सम्ममा ६५ प्रतिशत भौतिक संरचनाको निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । तर, मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ इक्विपमेन्ट र इन्टेरियर डिजाइनिङ सुरु हुन बाँकी छ । जसको निमार्ण समाप्ति अवधि मार्च २०२५ सम्म रहेको छ । होटलको निमार्ण गति सुस्त हुँदा तोकिएको अवधिमा पूरा नहुने देखिन्छ । निमार्ण अवधि लम्बने भएकाले आयोजनाको लागत समेत बढ्ने देखिन्छ।

जसमा कुल लगानीको ७५ प्रतिशत हिस्सा कर्जा र २५ प्रतिशत सेयरधनीहरुको सेयर हिस्सा रहेको छ । तथापि होटल निर्माण परियोजना कर्जामा निर्भर हुँदा र २२ प्रतिशत इक्युटीको इन्फ्युजन कार्य बाँकी नै रहेका कारण बाराही शेदी कम्पनीलाई होटल निर्माण कार्य सम्पन्न गरी होटल सञ्चालनमा ल्याउन समस्या हुने देखिन्छ । यसैगरी हालको समयमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको समस्या देखा पर्दा कर्जामा निर्भर रहेको होटल निर्माण परियोजना सम्पन्न हुने मै प्रश्न उठेको छ ।

बाराही ब्रान्ड नामबाट निमार्ण भइरहेको पाँच तारे होटल बाराही सेदीमा १५० कोठामा १० वटा सुइट, एउटा क्यासिनो र ११ वटा सर्भिस हाउसहरु समेत रहनेछन्। ६३ रोपनी जग्गामा निर्माण हुन लागेको उक्त होटलमा अथिति एकोमोडेसन भवन, लबी, रिपेस्सन, एउटा एक्सक्लुजीब बार, कन्फेरेन्स हल, स्पा, सौना रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निकटमा रहेको होटल पोखराकै सेदी हाइटमा निर्माण हुँदैछ ।

अन्तर्राष्ट्रिय विमानस्थल देखि निकट दूरीमा होटल सञ्चालन हुनु, नेपालको पर्यटकीय क्षेत्र नै पोखरा भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको रोजाइ र आकर्षणको सहर पोखरा हुनु र पछिल्लो समयमा नेपाल सरकारले नै पर्यटन प्रवद्र्धनमा विभिन्न स्कीमहरु ल्याउनु होटल बाराहीका लागि सुखद रहेको छ ।

पोखरामा होटल व्यवसाय गर्दै आएका र पर्यटन उद्योगमा लामो अनुभव बटुलेका हरि प्रसाद पौडेल होटलको प्रमोटर रहेका छन् । पारिवारिक व्यवसायका रुपमा होटल व्यवसाय सञ्चालन गरेका हरि प्रसाद पौडेलले सन् १९७८ बाट पोखरामा नै चार तारे होटल बाराही सञ्चालन गर्दै आएका छन् ।

होटल निर्माण कार्यका लागि बाराही सेदी कम्पनीले २ अर्ब ३८ करोड बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाको रेटिङ पुन पुष्टि गराएको छ । रेटिङ एजेन्सी इक्राले २ अर्ब ३ करोड ३० लाख बराबरको दीर्घकालीन कर्जाका लागि एलबी रेटिङ गरेको छ भने ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ पुन पुष्टी गरेको छ ।

पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी लिमिटेडले सर्वसाधारणमा ११ करोड ६० लाख रुपैयाँको प्राथमिक सेयर निष्काशन तयारी समेत गरेको छ । जारी पूँजी १ अर्व १६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न होटलले एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने होटलका कार्यकारी सञ्चालक विप्लव पौडेलले बताएका छन् । करिब ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भै सकेको उक्त होटल सन् २०२५ देखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको छ ।

साढे तीन दशक पर्यटन व्यवसायमा संलग्न बाराही गु्रपले बाराही सेदीको अलावा पोखराकै लेकसाईड होटल बाराही, काठमाण्डौंको ठमेलमा होटल बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ ।

बाराही ग्रुपले होटल आवास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाईडमा द ब्यञ्जन रेष्टुरेन्ट र खपौदीमा द बीच रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेकोछ। त्यस्तै पोखरामा आउने पर्यटकहरुलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।