खुम्बुमा ११ महिनामा ५५ हजारभन्दा बढी पर्यटक


चालु आर्थिक वर्ष २०८०\०८१ को ११ महिनामा ५५ हजार ९७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन्। गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ। निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन्।

यस वर्ष सबैभन्दा बढी बैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए।

बैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ। चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख सातसय रूपैयाँ राजस्व संकलन गरेको छ।

निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति तीन हजार रूपैयाँ लिने गरेको छ। सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ सार्क मुलुकका र ४२ हजार ९४ अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।