बुद्ध एयरको जहाज चिप्लियो, विमानस्थल बन्द


भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लिएर धावनमार्गबाहिर पुगेको छ । काठमाण्डौंबाट राति साढे ९ बजे उडान भरेको जहाज अवतरण गर्ने बेलामा चिप्लिएको थियो ।

जहाजको चक्का घाँसे मैदानमा पुगेको छ । ५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा भारी वर्षाका कारण चिप्लिएको बताइएको छ ।  

बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन् । जहाज सोही ठाउँमै रहेका कारण अन्य उडान ठप्प रहेको छ । जहाज धावनमार्गमा रहेका कारण विमानस्थल बन्द भएको हो । 

राति नै बुद्ध एयरको प्राविधिक र प्रहरीले तान्ने प्रयास गरे पनि सफल हुन नसकेपछि अहिले काठमाण्डौंबाट प्राविधिक टोली पठाइएको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।