इजरायल जाने श्रमिकका लागि आवेदन दिने समय थप


इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजान आवेदन दिने समय थप गरिएको छ ।

वैदेशिक रोजगार विभागले गएको असार ११ देखि आवेदन आह्वान गरेको थियो । असार ११ गते २१ दिनभित्र आवेदन दिनुपर्ने भनेतापनि आवेदन म्याद थप गरिएको छ । अब इजरायल जाने श्रमिकले साउन ११ सम्म आवेदन दिन सक्ने छन् ।

नेपालले नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । योग्यता पुगेकाहरूलाई गोलाप्रथाबाट छनोट गरिने छ । यो काममा जानेको मासिक तलब पाँच हजार ८८० इजरायली मुद्रा (जुन नेपालका दुई लाख १० हजार नेपाली रुपैयाँ) तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुने छ ।

त्यसपछि अधिकतम पाँच वर्षसम्म हुने छ । वैदेशिक रोजगार विभागले जारी गरेको उक्त सूचना अनुसार कुल ८०० नेपाली कामदारको माग भएकोमा ५०० जना मुख्य उम्मेदवारका रूपमा रहने छन्। थप ३०० जना वैकल्पिक उम्मेदवारका रूपमा रहने सूचनामा उल्लेख गरिएको छ। इजरायल पठाइने कामदारमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने छन्।

दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जान चाहने नेपाली कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ । कम्तीमा १।५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने छ भने कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमि (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०ं२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केअरगिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने छ ।

यस्तै, भिसाका लागि प्रक्रिया प्रारम्भ गर्दा आवेदकको राहदानीको म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने, विगतमा इजरेलमा गएर काम नगरेको हुनुपर्ने, बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरेलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने र मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असार २०८१, शुक्रबार  ०८ : ३२ बजे