विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको लाइन, १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको दाबी


नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिलको बिजुलीको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको लाइन काटेको हो ।

जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिदिएको हो । यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरुको संख्या ६ पुगेको छ । यसअघि प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट तथा जगदम्बा सिन्थेटिक र हुलास स्टील गरी ५ उद्योगमा विद्युत् कटौती गरेको थियो ।

प्राधिकरण सञ्चालक समितिको यही असार ४ गतेको ९७३ औं बैठकले २०७२ माघदेखि २०७५ वैशाख महिनासम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत शक्ति प्रयोग गरेको थप महशुल २५ प्रतिशत थप दस्तुरसहित बक्यौता तिर्न उद्योगहरुलाई १५ दिनको म्याद दिएको थियो । १५ दिनसम्म पनि बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काट्न सुरु गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।