जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ


वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् ।

थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ रु ७९ लाख ९७ हजार नौ सय १९ लिएकी थिइन् ।

प्रहरीले निजको साथबाट चार लाख ८० हजार रुपैयाँ र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उनले भने, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।