अधिक तरलताले एसडिएफको उपयोग ह्वात्तै बढ्यो, विहीबार मात्रै बैंकहरुले बुझाए ३ खर्ब ६८ अर्ब

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानी गर्दै आएका छन् । जसले गर्दा बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडिएफ) को प्रयोग बढाउँदै लगेका छन ।

बैंक तथा वित्तीय संस्थाले साउन ३ गते विहीबार मात्रै ३ खर्ब ६८ अर्ब २० करोड रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि उक्त रकम ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा राखेका हुन ।

केन्द्रीय बैंकले गत फागुन १ गतेदेखि ब्याजदरलाई स्थिर राख्ने तथा तरलता व्यवस्थापन गर्ने नयाँ उपकरणको रुपमा स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । अधिक तरलताका कारण अन्तर बैंकदरमा अस्वभाविक उतारचढाव नआओस भनेर स्थायी निक्षेप सुविधाको सुरुवात गरिएको हो।

बैंकहरुमा अधिक तरलता हुँदा नयाँ आर्थिक बर्ष साउन लागेपछि मात्रै बैंकहरुले २ पटक गरेर पौने ७ खर्ब ४० अर्ब ४० करोड बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका छन्। गत मंगलबार बैंकहरुले ३ खर्ब ७२ अर्ब २० करोड दुई दिनका लागि स्थायी निक्षेप सुविधा (एसडिएफ) राखेका थिए ।

बैंकहरुले नयाँ आर्थिक बर्ष सुरु भएयता साउनको पहिलो हप्तमा मात्रै २ पटक स्थायी निक्षेप सुविधा प्रयोग गरिसकेका छन्। खासगरी बैंकहरुले सातामा ३ पटक आइतबार, मंगलबार र बुधबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ। सोहि अनुसार बैंकहरुले बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्ने गरेका छन्।

फागुनदेखि नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराएको भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल नै छ। केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो औसत अन्तर बैंकदर २.९६ प्रतिशत रहेको छ । त्यसैगरी साउन २ गते बुधबारसम्म बैंकिङ प्रणालीमा ८७ अर्ब ९५ करोड २२ लाख अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अधिक छ। बैंकहरुको सिडि रेशियो ७७.६७ प्रतिशतमा झरेको छ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।

बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएको छ । स्थाई निक्षेप सुविधा (एसडिएफ) मार्फत बैंकहरुले रकम जम्मा गर्दा समेत तरलता नघटेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण समेत जारी गर्दे आएको छ । यहि साता मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब रुपैयाँ तरलता खिचेको थियो । केन्द्रीय बैंकले २१ दिनको लागि सो रकम वित्तीय प्रणालीबाट तानेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर नै ब्याजदर करिडोरको तल्लो सीमा हो । पछिल्ला दिनहरुमा निक्षेप संकलनको ब्याजदर ३ प्रतिशत भन्दा माथि रहेको छ । तर, अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत भन्दा तल झरेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा हाल ६४ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । कुल कर्जा प्रवाह ५१ खर्ब ६९ अर्ब कायम भएको छ । कुल निक्षेप मध्ये वाणिज्य बैंकमा मात्रै ५७ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । साथै हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा वाणिज्य बैंकले ४५ खर्ब ७१ अर्ब र विकास बैंक तथा फाइनान्सले ५ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अर्थतन्त्रमा देखिएको मन्दीको अवस्थाले कर्जाको मागमा वृद्धि हुन नसक्दा बैंकिङ्ग प्रणालीमा निक्षेप थपिने क्रम बढ्दो छ भने कर्जाको माग बढ्न सकेको छैन । यसले केन्द्रिय बैंकलाई ब्याजदर करिडोर कायम गर्न निक्षेप बोलकबोल गर्नुपर्ने अवस्था समेत सृजना भएको हो । बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको हो। बैंकहरूको कर्जाको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा लगानी बढ्न सकेको छैन।

बैंकहरुले पनि कर्जा लगानी विस्तार भन्दा पनि कोरोना तथा आर्थिक मन्दीका कारण ‘डिफल्ट’ भएको कर्जा असुलीमा केन्द्रीत हुन थाले । बढ्दो खराब कर्जाका कारण बैंकहरु असुलीमा केन्द्रीत हुँदा पनि कर्जा लगानी सुस्त हुनुमा मद्दत पुग्यो। त्यसले समेत अधिक तरलताको समस्या बढ्नमा सहयोग पुगेको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ । निक्षेप बढे अनुसार कर्जा माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निरन्तर बैंकिङ प्रणाली मार्फत तरलता तानिरहेको छ ।

अधिक तरलताले अन्तर बैंक दर घट्छ । अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले तरलता खिच्ने र अन्तर बैंक ब्याजदर घट्न नदिन स्थायी निक्षेप सुविधा (एसडिएफ) मार्फत प्रणालीको पैसा केन्द्रीय बैंकले खिच्छ ।

आर्थिक वर्षको अन्तिम महिनामा सरकारी खर्च बढेसंगै बैंकहरु समेत कर्जा असुलीमा केन्द्रीत हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरीदै गएको हो। बैंकहरुले कर्जा लगानी गर्न नसक्ने, सरकारी खर्च बढ्ने तथा रेमिट्यान्स आप्रबाहमा देखिएको निरन्तरको सुधारले अधिक तरलताको समस्या पेचिलो बनेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।