देशभरका ४७५ स्वास्थ्य संस्थाबाट पाइन्छ स्वास्थ्य बीमा सेवा, साढे ३८ लाख लाभान्वित


स्वास्थ्य बीमाको सुरुवात भएको ८ वर्ष भइसकेको छ । सरकारले २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बीमाको सुरुवात गरेको थियो । आठ वर्षमा निजी, सरकारी र सामुदायिक गरी कुल ४७५ स्वास्थ्य संस्थाबाट बीमा सेवा प्रदान गर्न थालेको छ ।

हालसम्म ८१ लाख ४५ हजार ८३१ जना बिमितमा नविकरण गर्नेको कुल संख्या ४९ लाख १९ हजार ७०४ जनाले छ । आठ वर्षमा २५ लाख ६ हजार ३१२ घरधुरी स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् भने ३८ लाख ६१ हजार ६४ जनाले सेवा उपभोग गरिरहेको स्वास्थ्य बीमा बोर्डको सूचना अधिकारी ओम कुमारी कडेलले जानकारी दिइन् ।

यस्तै, स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीमा रहेको सेवाको दर परिमार्जन गरेको छ। यसले पनि बिमाको पहुँच बढ्ने विश्वास लिइएको छ ।

के छ बीमाको परिमार्जित सुविधा थैलीमा ?

बोर्डले साउन १ गतेदेखि लागु हुने गरि एक हजार २९० वटा औषधिसहित सुविधा थैलीमा रहेका प्याकेजहरू परिमार्जन गरेको हो । परिमार्जित प्याकेजमा ओपीडी टिकटको दर ५० रुपैयाँ तोकिएको छ । जनरल बेडको शुल्क भने प्रतिदिन २५० रुपैयाँ तोकिएको छ । परिमार्जित प्याकेज अनुसार एक हजार २९० मध्ये ३९४ औषधिमात्रै तीन महिनालाई एकैपटक दिन मिल्ने सूचीमा छन् । बोर्डले २०८० मंसिर २७ गते नियमित औषधि सेवन गर्ने बिमितलाई तीन महिनाको औषधि एकैपटक दिने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनका निम्ति सबै अस्पताललाई बोर्डले निर्देशन दिएको छ । बीमा प्याकेजमा हाल औषधिसहित ४९८ वटा प्रयोगशाला परीक्षणदेखि भर्ना भएर उपचार गर्नुपर्ने ६६ वटा उपचार सेवा समेतलाई समेटिएको छ ।

यस्तै, दाँतसम्बन्धी १०, नाक कान घाँटीका ३६ शल्यक्रिया आँखासम्बन्धी १२२, स्त्रीरोगसम्बन्धी ६२, मुटु रोगसम्बन्धी ३१, छातीसम्बन्धी ४६, भास्कुलरतर्फ ५६, न्युरोतर्फ १९, हाड जोर्नीसम्बन्धी ८२, क्यान्सरसम्बन्धी १९, जीएस जीआए सम्बन्धी ५४, युरोलोजीसम्बन्धी ५१, मिर्गौलासम्बन्धी १० सेवा पनि छन् ।
त्यसैगरी, ओठतालु तथा अनुहारसम्बन्धी प्लास्टिक सर्जरीमा १०६, अनुहारको हाडजोर्नीसम्बन्धी २० वटा सेवा प्याकेजमा समावेश छन् । रोग अनुसारको शल्यक्रिया पनि यिनै सेवाभित्र समेटिएको छ ।

अपांगता भएका नागरिकका निम्ति आवश्यक २१ खाले उपकरणहरू, चार वर्गका फिजियोथेरापी लगायतका सेवा पनि बिमा प्याकेजमा पर्छन् ।
नयाँ दररेट अनुसार सबैभन्दा कम शुल्क ओपीडीको (५० रुपैयाँ) र सबैभन्दा धेरै न्युरोसम्बन्धी चारवटा शल्यक्रियाको (७० हजार रुपैयाँ) कायम गरिएको छ । स्वास्थ्य बिमाको यो परिमार्जित सुविधा थैलीले पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

के हो स्वास्थ्य बीमा ?

स्वास्थ्य बीमा भनेको नेपाल सरकारद्वारा संचालित सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको कार्यक्रम हो । जहाँ स्वास्थ्य सेवा उपयोगको क्रममा हुने आर्थिक जोखिम न्यूनीकरण गर्न व्यक्तिगत खर्च घटाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चत गर्न सञ्चालित योगदानमा आधारित वित्तीय संरक्षण गर्ने गरिन्छ ।
स्वास्थ्य बीमामा आबद्ध हुन प्रति परिवार (५ जनासम्म) ३ हजार ५०० वार्षिक रुपमा योगदान रकम तिर्नुपर्ने हुन्छ र पाँच जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य ७०० रुपैयाँका दरले शुल्क लाग्छ लाग्ने कडेलको भनाइ छ ।

स्वास्थ्य बीमामा आबद्ध भए पश्चात ५ सदस्य परिवार सम्मको एक परिवारले एक लाख रुपैयाँसम्म र सो पश्चात थप हुने प्रति सदस्य २० हजार रुपैयाँ गरी अधिकतम २ लाखसम्मको स्वास्थ्य उपचार सेवा पाईन्छ ।

यस्तो छ लाग्ने शुल्क र पाउने सुविधा

१ जना देखि ५ जना सम्मको स्वास्थ्य बिमामा ३ हजार ५०० लाग्दछ । सो बापत एक लाख रुपैयाँसम्मको सुविधा पाउने छन् । ६ जना सदस्यको परिवारलाई ४,२०० लाग्छ भने १ लाख २० हजार रुपैयाँसम्मको सुविधा पाउने छन् ।  यस्तै, ७ जना सदस्यको परिवारको लागि चार हजार ९०० रुपैयाँ लाग्छ भने उनीहरुले १ लाख ४० हजारको उपभार सुविधा पाउने छन् ।

यसैगरी, आठ जना सदस्यको परिवारको लागि पाँच हजार ६ सय रुपैयाँ लाग्ने छ भने उनीहरुले १ लाख ६० हजार रुपैयाँको सुविधा पाउने छन् । ९ जना सदस्यको परिवारको लागि ६ हवार ३०० रुपैयाँ लाग्ने छ उनीहरुले १ लाख ८० हजार रुपैयाँको स्वास्थ्य सुविधा पाउने छन् । यस्तै १० जना परिवार सदस्यको लागि सात हजार रुपैयाँ लाग्ने छ भने उनीहरुले दुई लाख रुपैयाँको स्वास्थ्य सुविधा पाउने छन् ।

स्वास्थ्य बीमाद्वारा तोकिएको सेवा रकम परिवारको सबै बीमित सदस्यहरुको लागि एकमुस्ट रकम हो तर एकै व्यक्तिलाई उपचारको आवश्यकता परेको अवस्थामा पनि प्रयोग गर्न सकिनेछ । 

स्वास्थ्य बीमा अन्तर्गत तोकिएका रकमहरु समय अगाबै धेरै उपचार गर्नुपरेका कारण सकिएमा पुनः नविकरण गर्नुपर्ने समय अगाबै शुल्क तिरेर पनि नविकरण गर्न पाइदैन ।

बीमामा आबद्ध हुने तरिका

स्वास्थ्य बीमाको लागि बिमितले आफ्नो वडा कार्यालयमा गई स्वास्थ्य बीमा दर्ता सहयोगीलाई सम्पर्क गर्न सकिने छ । तर, सम्बन्धित वडाको दर्ता सहयोगीद्वारा मात्र स्वास्थ्य बीमा बनाउन पाईने हुँदा आफ्नो वडाको दर्ता सहयोगी मार्फत मात्र आबद्ध हुन पर्नेछ । नविकरणको लागि भने बीमा दर्ता सहयोगी मार्फत वा विद्युतीय माध्यमद्वारा (जस्तै Nagarik App, Connect– IPS, e–Sewa, Khalti) पनि गर्न सकिनेछ । निरन्तर सेवा प्राप्तिको लागि जुन चक्रमा आबद्धता भएको हो सोहि चक्रमा कम्तिमा एक महिना अगावै नविकरण गर्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।