सिप्रदीको गाडी व्यापारमा निरन्तर गिरावट, ९ महिनामा साढे १३ अर्बको कारोबार

0
Shares

सिप्रदी ग्रुपको व्यापारमा निरन्तर गिरावट आएको छ । गत वर्ष १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको टाटा गाडी बिक्री भएकोमा यस बर्षको ९ महिनामा साढे १३ अर्ब रुपैयाँ बराबरको टाटा गाडी बिक्री गरेको छ।

ग्रुपको सिप्रदी ट्रेडिङ प्रालिले २०२४ को ९ महिनामा टाटा गाडी, म्याक लुब्रिकेन्टस र एक्साइड ब्याट्रको कूल १३ अर्ब ५४ करोड २० लाख रुपैयाँ व्यापार गरेको हो।

गत वर्ष सिप्रदीले १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको टाटा गाडी बिक्री गरेको थियो । २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख, २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको टाटा गाडी र म्याक लुब्रिकेन्टसको व्यापार गरेको थियो ।

यस्तै २०२० मा सिप्रदीले १९ अर्ब ७० करोड ५० लाख र २०१९ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँ गाडी व्यापार गरेको थियो ।

सन २०२३ मा व्यापारमा आएको संकुचनसँग कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन आधा घटेर ४.८ प्रतिशतमा सिमित भएको छ । २०२२ मा सिप्रदीको अपरेटिङ प्रोफिट मार्जिन ८ प्रतिशत थियो ।

कमर्शियल भेहिकल व्यापार घटेका कारण यो वर्षको ९ महिनामा अपरेटिङ प्रोफिट मार्जिन ०.२ प्रतिशत घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

सन् १९७९ मा स्थापना भएको सिप्रदीले नेपालमा भारतको टाटा ब्राण्डका गाडी र मोबिलको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २००० देखि एक्साइड ब्रान्डको ब्याट्री र २००२ देखि म्याक लुब्रिकेन्टस बेच्दै आएको छ । सिप्रदीका अध्यक्ष सिद्धार्थशम्शेर जबरा रहेका छन् । कम्पनीको मुलुकभरी ६४ वटा वितरक केन्द्रहरु रहेका छन् । सिप्रदीले १३ अर्ब ७५ करोड ऋणको रेटिङ गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।