ओटीसी (ओभर दि काउन्टर) बजारबाट गत आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ४ करोड रुपैयाँको बराबरको सेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा कुल ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँको बराबरको सेयर किनेबेच भएको हो ।
गत आवमा न्यूनतम २७७ देखि अधिकतम २९ लाख ४० हजार कित्तासम्म एकैपटक कारोबार भएको हो । उक्त अवधिमा ३१ वटा कम्पनीको न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ९ हजार ३७५ रुपैयाँसम्ममा किनबेच भएको हो । वर्ल्डलिंक कम्युनिकेशनको सबैभन्दा धेरै मूल्यमा कारोबार भएको छ भने ग्रीन गोर्खा इनर्जी लिमिटेडको सबैभन्दाकम १० रुपैयाँमा सेयर कारोबार भएको छ। यस अवधिमा ३७ ओटा कम्पनीको एक सय रुपैयाँका दरमा सेयर खरिद बिक्री भएको छ ।
नेप्सेले विसं २०६४ सालदेखि ओटीसी अवधारणा विकास गरी सञ्चालनमा ल्याएको हो । विसं २०७२ माघ १८ गतेदेखि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पूरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयरको कारोबार ओटीसी बजारमार्फत खरिदबिक्री गरिन्छ। हालसम्म जम्मा २४४ वटा कम्पनीहरु यस बजारमा दर्ता भइ कारोबार भइरहेका छन् ।
नेप्सेले वि.सं २०६४ देखि ओटीसी मार्केटको अवधारणा ल्याए पनि २०७२ माघ १८ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ओटीसी बजारमा कारोबार हुने कम्पनीहरूमध्ये मारुती सिमेन्ट पहिलो कम्पनी हो । यसपछि नेपाल हाइड्रो डेभलभर, काठमाडौं फरेस्ट्री कलेज, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत रहेका थिए । नेप्सेमा सूचीकृत नभएका तर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका हरेक पब्लिक कम्पनीहरूले आफ्नो सेयर स्वामित्व बिक्री तथा खरिद गर्न ओटीसी बजारमा दर्ता भएपछि मात्रै सेयर कारोबार गर्न पाउँछन् ।
हाल कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांकअनुसार पब्लिक कम्पनीको संख्या १ हजार ९५८ छ। यसमध्ये २०६ कम्पनी ओटीसीमा दर्ता छन् ।
ओटीसी बजारको कारोबार दोस्रो बजारको जस्तो प्रभावकारी हुँदैन । यस्तो बजार अनियमित र आवश्यकतामा भर पर्ने भएकाले पनि खासै धेरै कारोबार भइरहँदैन। ओटीसी सक्रिय हुनुपर्छ भन्ने पनि छैन। यो एक प्रकारको निकासको व्यवस्था हो। कम्पनीभित्र सेयर लिएका सेयर होल्डरले चाहेको बेला किनबेच गर्ने सजिलो माध्यम ओटीसी हो। ओटीसी आवश्यकतामा भरपर्ने भएकाले यसको आकर्षण नेप्से सूचीकृत कम्पनीको जस्तो हुँदैन। संसारमा धेरैभन्दा धेरै सेयर किनबेच ओटीसीबाट हुने गरेको छ तर नेपालमा भने यस्तो कारोबार कमसल कम्पनीले मात्र गर्छन् भन्ने धारणा विकास भएको छ ।
ओटीसी कारोबार गर्न निःशुल्क रूपमा कम्पनी दर्ता गर्न सकिन्छ। तर, सेयर खरिद बिक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ। साथै नेपाल सरकारलाई पुँजीगत लाभकर पनि बुझाउनुपर्छ। ओटीसी बजार सञ्चालन विनियमावली २०६५ अनुसार ओटीसी बजारमा धितोपत्र बजारले सूचीकरण खारेज गरेका कम्पनीका धितोपत्रहरू र धितोपत्र बजारको सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका धितोपत्रहरू कारोबार गर्न सकिनेछ। तर, ओटीसी बजारमा कारोबार गराउने अभिप्रायले कुनै पनि सूचीकृत कम्पनीको सूचीकरण खारेज नगरिने समेत विनियमावलीमा उल्लेख छ ।
ओटीसीमा लाग्ने शुल्क
ओटीसी बजारमा धितोपत्र खरिदबिक्री गर्दा प्रत्येक खरिदकर्ता तथा बिक्रीकर्ताले कारोबार रकमको आधारमा कारोबार शुल्क बुझाउनु पर्छ । २५ हजारसम्मको कारोबार भएमा ०.२० प्रतिशत, ५० हजारसम्मकोमा ०.१८ प्रतिशत र त्यसभन्दा बढीको सेयर कारोबार गर्न ०.१५ प्रतिशत नेप्सेलाई बुझाउनुपर्छ। उक्त शुल्कबाट नेपाल धितोपत्र बोर्डले ०.०१५ प्रतिशत लिने गर्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया