रूसमा शीर्ष जापानी व्यापारीलाई प्रतिबन्ध, टोकियोद्वारा विरोध प्रकट


टोकियोले बुधबार टोयोटाका प्रमुखलगायत अन्य १२ जना वरिष्ठ जापानी व्यापारीलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने रूसको निर्णयको विरोध गरेको छ ।

रूसी विदेश मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा टोयोटाका अध्यक्ष अकिओ टोयोडा, राकुटेन प्रमुख हिरोशी मिकितानी र सरकार समर्थित जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष अकिहिको तनाकाको नाम समावेश रहेको छ ।

“जापानले विशेष सैन्य अपरेशनको सम्बन्धमा हाम्रो देशविरुद्ध जारी गरेको प्रतिबन्धहरूको प्रतिक्रियामा यो निर्णय गरिएको हो,” रूसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

रूसले मित्सुबिशी, होन्डा र सोनीजस्ता प्रमुख जापानी कम्पनीका प्रमुखको नाम समावेश नभएको उक्त सूचीका लागि व्यक्तिहरू कसरी छानिए भनेर व्याख्या गरेको छैन । जापानले किएभलाई आर्थिक र भौतिक समर्थन प्रदान गरेको छ भने रूसी व्यक्ति र संस्थाहरूलाई प्रतिबन्ध लगाएको छ ।

जापानको संविधानले हतियार निर्यात गर्न प्रतिबन्ध लगाएको छ । तर डिसेम्बरमा टोकियोले घरेलु रूपमा निर्माण गरिएको प्याट्रियट मिसाइलहरू संयुक्त राज्य अमेरिकामा निर्यात गर्न आफ्नो हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो ।

युक्रेनमा आपूर्ति गरिएका कारण अमेरिकामा कम भएका हवाई रक्षा मिसाइलको सङ्ख्या बढाउने उद्देश्यले जापानले यो कदम चालेको थियो । “रूसको यस घोषणाले जापानी कम्पनीहरूको निष्पक्ष गतिविधिलाई प्रतिबन्धित गर्नेछ जुन पूर्ण रूपमा अस्वीकार्य छ,” जापानी सरकारका प्रवक्ता योशिमासा हयासीले बुधबार भने । “रुस–युक्रेन द्वन्द्वका कारण हामीमा लगाइएका प्रतिबन्ध अन्तर्राष्ट्रिय कानूनको स्पष्ट रूपमा उल्लङ्घन हो,” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।