तरलता व्यवस्थापनका लागि एसडिएफ मार्फत बैंकहरुले केन्द्रीय बैंकमा बुझाए ३ खर्ब १९ अर्ब

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन उपकरणमा लगानी बढाउँदै गर्दा बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडिएफ) को उपयोग झनै बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले साउन ९ गते विहीबार मात्रै ३ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि उक्त रकम ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा राखेका हुन ।

केन्द्रीय बैंकले गत फागुन १ गतेदेखि ब्याजदरलाई स्थिर राख्ने तथा तरलता व्यवस्थापन गर्ने नयाँ उपकरणको रुपमा स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । अधिक तरलताका कारण अन्तर बैंकदरमा अस्वभाविक उतारचढाव नआओस भनेर स्थायी निक्षेप सुविधाको सुरुवात गरिएको हो।

बैंकहरुमा अधिक तरलता हुँदा नयाँ आर्थिक बर्ष साउन लागेपछि मात्रै बैंकहरुले ५ पटक गरेर पौने १७ खर्ब ७५ अर्ब ९५ करोड बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका छन्। गत मंगलबार बैंकहरुले ३ खर्ब ५१ अर्ब ५ करोड दुई दिनका लागि स्थायी निक्षेप सुविधा (एसडिएफ) राखेका थिए ।

बैंकहरुले नयाँ आर्थिक बर्ष सुरु भएयता साउनको दोस्रो हप्ता सम्ममा ५ पटक स्थायी निक्षेप सुविधा प्रयोग गरिसकेका छन्। खासगरी बैंकहरुले सातामा ३ पटक आइतबार, मंगलबार र विहीबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ। सोहि अनुसार बैंकहरुले बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्ने गरेका छन्।

फागुनदेखि नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराएको भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत हाराहारी छ। त्यसैगरी साउन ९ गतेसम्म बैंकिङ प्रणालीमा ७५ अर्ब ९७ करोड ८४ लाख अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अधिक छ। बैंकहरुको सिडि रेशियो ७८.१५ प्रतिशतमा झरेको छ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा हाल ६४ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । कुल कर्जा प्रवाह ५१ खर्ब ३८ अर्ब कायम भएको छ । कुल निक्षेप मध्ये वाणिज्य बैंकमा मात्रै ५७ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । साथै हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा वाणिज्य बैंकहरुले ४५ खर्ब ४५ अर्ब र विकास बैंक तथा फाइनान्सले ५ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।