गण्डकी प्रदेश पुग्ने पर्यटकहरुको औसत दैनिक खर्च ८३५५ रुपैयाँ, झण्डै ९५% ले गर्छन् नगदमै भुक्तानी

0
Shares

प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण गण्डकी प्रदेशमा वर्षेनी स्वदेश तथा विदेशबाट ठूलो संख्यामा पर्यटकको आगमन हुने गरेको छ । पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको गण्डकी प्रदेश संस्कृति र प्रकृतिको संगम स्थल भएकाले मनोरञ्जन, साहसिक, धार्मिक लगायत विभिन्न प्रकारका पर्यटनका लागि प्रसिद्ध छ ।

यस प्रदेशमा पुग्ने पर्यटकहरुको भारित औसत दैनिक खर्च ८ हजार ३५५.२९ रुपैयाँ (अमेरिकी डलर ६२.८९) रहेको पाईएको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ।

प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत खर्च दैनिक ११ हजार ८६६.०९ (अमेरिकी डलर ८९.३१) रहेको पाईएको छ । त्यसैगरी स्वतः स्फुर्त रुपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरुको दैनिक औसत खर्च ७ हजार २१७.३१ (अमेरिकी डलर ५४.३२) रहेको पाईएको छ ।

औसत दैनिक खर्चको हकमा पर्यटकहरुको सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत रहेको छ भने बसाईमा २७.६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत देखिएको छ ।

उमेर समुहका आधारमा पर्यटकहरुको खर्च गर्ने प्रवृत्ति विश्लेषण गर्दा यस प्रदेशमा आउने पर्यटकहरुमध्ये ४६ देखि ५५ उमेर समुहका पर्यटकहरुको बसाई खर्च, खानपिन खर्च र धार्मिक खर्च क्रमशः ३२.४९ प्रतिशत, २९.२६ प्रतिशत र १.५७ प्रतिशत पाइयो जुन अरु उमेर समूहको भन्दा बढी हो ।

त्यस्तै, २० बर्ष सम्मको उमेर समूहको यातायात खर्च (२४.०७ प्रतिशत) र किनमेल खर्च (९.६५ प्रतिशत) सबैभन्दा बढी देखिएको छ । २१ देखि ३० बर्ष उमेर समूहको पर्यटकहरुको मनोरञ्जन खर्च (१८.०७ प्रतिशत) र अन्य खर्च (३.३५ प्रतिशत) अन्य उमेर समूहको भन्दा बढी रहेको पाईएको छ ।

यस प्रदेशमा आउने पर्यटकहरुमध्ये लिङ्गका आधारमा खर्चको प्रवृत्ति सम्बन्धमा विश्लेषण गर्दा पुरुष पर्यटकको बसाई खर्च (२८.८७ प्रतिशत), धार्मिक खर्च (१.५० प्रतिशत) र अन्य खर्च (१.४० प्रतिशत) महिला पर्यटकको तुलनामा बढी पाइयो । साथै, महिला पर्यटकहरुको खानपिन खर्च (२८.५५ प्रतिशत), यातायात खर्च (२३.६१ प्रतिशत), मनोरञ्जन खर्च (१२.७८ प्रतिशत) र किनमेल खर्च (६.१२ प्रतिशत) पुरुष पर्यटकको तुलनामा बढी रहेको देखिएको छ ।

यस प्रदेशमा आउने पर्यटकहरुमध्ये महादेशका आधारमा खर्चको प्रवृत्ति विश्लेषण गर्ने क्रममा उत्तर अमेरिका महादेशबाट आउने पर्यटकहरुको बसाई खर्च (३०.०६ प्रतिशत) र यातायात खर्च (२६.७६ प्रतिशत) अन्य महादेशको तुलनामा बढी देखिएको छ । दक्षिण अमेरिका महादेशबाट आउने पर्यटकहरुको खानपिन खर्च (४०.८८ प्रतिशत), कर (१५.४३ प्रतिशत) र किनमेल खर्च (७.७१ प्रतिशत) अन्यको तुलनामा धेरै देखिएको छ । साथै, मनोरञ्जन खर्च (१५.८ प्रतिशत) मा युरोप महादेश, धार्मिक खर्चमा (२.०२ प्रतिशत) एशिया महादेश र अन्य खर्चमा (१.३ प्रतिशत) अष्ट्रेलिया महादेशबाट आउने पर्यटकहरुको संख्या बढी रहेको पाईएको छ ।

अध्ययनमा संलग्न पर्यटकहरुमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले, कार्डको माध्यमबाट ४.९७ प्रतिशत पर्यटकले र मोबाइल वालेटको माध्यमबाट ०.१० प्रतिशत पर्यटकले विभिन्न खर्चका लागि भुक्तानी गर्ने गरेको पाईएको छ ।

खर्चगत रुपमा भुक्तानीको माध्यमको विश्लेषण गर्दा बसाई खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ८७.८० प्रतिशत पर्यटकले नगदका माध्यमबाट, ११.९ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट र ०.३० प्रतिशत पर्यटकले मोबाइल वालेटका माध्यमबाट भुक्तानी गर्ने गरेको देखिएको छ ।

खानपिन खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९१.४४ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र ८.२६ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको पाईएको छ । त्यसैगरी यातायात खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९६.६१ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र ३.३९ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको भेटिएको छ ।

पर्यटकले गर्ने गरेका विभिन्न पर्यटकीय क्रियाकलापका लागि भुक्तानी गर्ने क्रममा ९८.१६ प्रतिशत पर्यटकले नगदका माध्यमबाट र १.८४ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेका छन्। यसैगरी पर्यटकहरुले तिर्ने राजश्वमा पनि सबैभन्दा धेरै ९८.०२ प्रतिशत पर्यटकले नगदकै मार्फत भुक्तानी गर्ने गरेको पाईएको छ।

विभिन्न खर्चको भुक्तानी गर्दा नगद नै बढी प्रयोग हुनुको कारणहरुमा ऋबचम च्भबमष्लन मेसिन सबै ठाउँमा सहजै उपलब्ध नहुनु, भएकाले पनि सबै कार्ड स्वीकार नगर्नु, कमिसन शुल्क धेरै हुनु, कार्डबाट नगद निकाल्ने सीमा थोरै हुनु, सबै ठाउँमा अनलाईन भुक्तानी गर्न नसक्नु, कार्डको माध्यमबाट भुक्तानी गर्दा वस्तु तथा सेवाको मूल्य नै बढी तिर्नुपर्ने आदि मुख्य कारणहरु देखिएका छन्।

छनौटमा समावेश गरिएका पर्यटकहरुमध्ये ६२.७५ प्रतिशत पुरुष पर्यटक, ३७ प्रतिशत महिला पर्यटक र ०.२५ प्रतिशत अन्य पर्यटक रहेका छन्।

यस अध्ययनमा विश्वका ४१ देशहरुबाट गण्डकी प्रदेशमा भ्रमण गर्ने पर्यटकहरु समावेश भएकोमा सबैभन्दा बढी पर्यटकहरु आउने देश भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलिया रहेको पाइएको छ। सबैभन्दा बढी युरोप महादेशबाट ४६.२५ प्रतिशत पर्यटकहरु आएको पाइएको छ भने सबैभन्दा कम दक्षिण अमेरिका महादेशबाट ०.७५ प्रतिशत पर्यटकहरु आएको देखिएको छ । अफ्रिका महादेशबाट गण्डकी प्रदेशमा पर्यटकहरु आएको पाईएन ।

गण्डकी प्रदेशमा आउने पर्यटकहरुमध्ये ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकहरु सबैभन्दा बढी ३३ प्रतिशत रहेको पाइयो भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका पर्यटकहरु १.५ प्रतिशत रहेको देखिएको छ ।

गण्डकी प्रदेशमा पर्यटकहरु विभिन्न उद्देश्य लिएर भ्रमण गर्ने गरेकोमा सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन ४०.१८ प्रतिशत र सबैभन्दा कम २.९८ प्रतिशत पर्यटकहरु व्यापारिक प्रयोजनका लागि आउने गरेको पाइएको छ । ३१ देखि ४५ उमेर समूहको पर्यटकहरु बढी साहसिक क्रियाकलाप, मनोरञ्जन र सांस्कृतिक क्रियाकलापमा संलग्न हुने गरेको पाइयो भने ४६ देखि ५५ उमेर समुहका पर्यटकहरु धार्मिक कार्यका लागि आउने गरेको देखिएको छ ।

यस प्रदेशमा पहिलोपटक आउने पर्यटकहरु ६८ प्रतिशत रहेका छन् भने ३२ प्रतिशत पर्यटक एकपटक भन्दा बढी पटक आउने गरेको पाइएको छ । एकलरुपमा भ्रमण गर्ने पर्यटकको संख्या ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने पर्यटकको संख्या २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने पर्यटकको संख्या २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने पर्यटकको संख्या द १४ प्रतिशत रहेको छ । यसरी पार्टनरको रुपमा आएका पर्यटकहरुमध्ये ४४.४ प्रतिशत महिला रहेका छन्।

यस सर्वेक्षणमा संलग्न गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरूको नेपालमा औसत बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशमा औसत बसाई अवधि १२ दिन रहेको पाईएको छ । उक्त सर्वेक्षणमा संलग्न पर्यटकहरुको नेपालको औसत बसाईको तुलनामा गण्डकी प्रदेशको औसत बसाई ५४.५५ प्रतिशत रहेको छ ।

पुरुष पर्यटकहरुको तुलनामा महिला पर्यटकको औसत बसाई अवधि उच्च रहेको पाईएको छ । नेपाल भ्रमण गर्ने महिला पर्यटकहरुले औसतमा २५ दिन र पुरुष पर्यटकहरुले औसतमा २० दिन भ्रमण गर्ने गरेको पाईएको छ भने गण्डकी प्रदेशमा औसत बसाई अवधि पुरुष पर्यटकहरुको ११ दिन र महिला पर्यटकहरुको १३ दिन रहेको छ ।

अध्ययनमा संलग्न पर्यटकहरुमध्ये ३१ देखि ४५ उमेर समूहका पर्यटकहरुको औसत बसाई अवधि उच्च (नेपालमा २५ दिन र गण्डकी प्रदेशमा १४ दिन ) रहेको देखियो । त्यसैगरी ५५ देखि बढी उमेर समूहका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबैभन्दा न्यून (९ दिन) रहेको देखियो भने २० वर्षसम्म पर्यटकहरुको नेपालमा औसत बसाई अवधि सबैभन्दा न्यून (१९ दिन) रहेको पाईयो ।

विभिन्न ६ महादेशबाट आएका पर्यटकहरुमध्ये दक्षिण अमेरिका महादेशबाट आएका पर्यटकहरुको औसत बसाई अवधि सबैभन्दा धेरै १९ दिन रहेको पाइयो भने सबैभन्दा कम औसत बसाई अवधि ९ दिन एसिया महादेशबाट आउनेपर्यटकहरुको रहेको पाईयो । सबैभन्दा बढी र कम राष्ट्रिय औसत बसाई अवधि भने क्रमशः २८ दिन र १६ दिन रहेको छ ।

गण्डकी प्रदेशका विभिन्न ६ जिल्लाबाट नमूना संकलन गरिएकोमा मनाङ जिल्लामा भेटिएका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबै भन्दा धेरै (१८ दिन) र गोरखा जिल्लामा भेटिएका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबै भन्दा न्यून (४ दिन) रहेको छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकहरुको प्रदेशमा बसाईको अनुभवप्रतिको दृष्टिकोण विश्लेषण गर्दा ६० प्रतिशत पर्यटकहरु एकदमै सकारात्मक, ३४.७५ प्रतिशत सकारात्मक, ५ प्रतिशत तटस्थ र ०.२५ प्रतिशत नकारात्मक रहेको छ । साथै, यस अध्ययनमा अत्यधिक नकारात्मक बसाई अनुभव भएका पर्यटकहरु भेटिएको छैन ।

अध्ययनमा ८७ प्रतिशत पर्यटकहरुले आफ्नो बसाई अवधिमा गण्डकी प्रदेशबाट लिन सकिने सम्पूर्ण आनन्द लिन सकेको पाईयो भने बाँकी १३ प्रतिशतले भने पूर्ण आनन्द लिनका लागि थप दिन आवश्यक पर्ने बताएका छन्। यसका साथै, औसतमा आफ्नो बसाई अवधिमा २३ दिन थप गर्न सके मात्र गण्डकी प्रदेशबाट लिन सकिने सम्पूर्ण आनन्द लिन सक्ने देखिएको छ ।

केही पनि समस्या अनुभव नगरेका पर्यटकहरु सबैभन्दा धेरै २८.४१ प्रतिशत पाइयो भने यातायातको समस्या भोगेका पर्यटक २३.११ प्रतिशत, भुक्तानीको समस्या भोगेका पर्यटकहरु १५.३४ प्रतिशत र भाषागत समस्याहरु पाएका पर्यटकहरु १२.३१ प्रतिशत रहेको पाइएको छ ।

स्वतः स्फुर्त रुपमा आउने पर्यटकहरुको अंश ७६ प्रतिशत र प्याकेज टुर्समा आउने पर्यटकहरुको अंश २४ प्रतिशत रहेको छ । यसरी प्याकेज लिएर भ्रमण गर्न आउने पर्यटकहरुमध्ये राष्ट्रिय प्याकेज लिने पर्यटकहरुको अंश ५३.१२ प्रतिशत र अन्र्तराष्ट्रिय प्याकेज लिने पर्यटकहरुको अंश ४६.८८ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेश भ्रमण गर्ने विभिन्न देशका पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्तिको अध्ययनले पर्यटक लक्षित नीति निर्माण गर्न टेवा पु¥याउन सक्ने देखिएतापनि यस प्रकारका अध्ययन विगतमा भएको नदेखिएकाले यो अध्ययन गरिएको हो ।

अध्ययनमा पर्यटकको आगमनको संख्या, पर्यटन पूर्वाधारको विकास तथा पर्यटकीय गतिविधिका आधारमा कास्की, मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा र नवलपरासी (पूर्व) गरी ६ जिल्लालाई समावेश गरिएको र छनौट भएका जिल्लाहरुबाट नमुना छनौट विधि प्रयोग गरी निर्धारित संख्यामा नमुना संकलन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।