वैदेशिक रोजगार बचतपत्रको नीतिगत र प्रक्रियागत सरलीकरण गर्न सुझाब, आन्तरिक ऋणमा योगदान औसत ०.०६%

0
Shares

वैदेशिक रोजगार बचतपत्र आव्हान हुन थालेको करिब डेढ दशक भएतापनि यसबाट अपेक्षित मात्रामा आन्तरिक ऋण परिचालन हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले वैदेशिक रोजगार बचतपत्रको स्थिति र यसको प्रवद्र्घनका उपायहरु सम्बन्धी गरेको अध्ययन प्रतिवेदनले वैदेशिक रोजगार बचतपत्रको बारेमा पर्याप्त जानकारी नभएको, खरिद प्रक्रिया झण्झटिलो भएको, प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनु पर्ने कारण वैदेशिक रोजगार बचतपत्र बिक्री हुन नसकेको औल्याएको छ ।

अध्ययनमा वैदेशिक रोजगार बचतपत्र परिचालन स्थिति तथा योगदानको समग्र विश्लेषण गर्दै बचतपत्रबारे जानकारी, खरिद गर्ने तत्परता, खरिद गर्न चाहने/नचाहने कारण र प्रवद्र्घनका उपायहरुको विश्लेषणको लागि तीन प्रकारका सर्वेक्षण गरिएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टहरुसँग इमेल सर्वेक्षण गरिएको केन्द्रीय बैंकको भनाई छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौं बाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफण्टाका नाकाहरुमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ ।

तर जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद गरेको देखिएन । वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झण्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनु पर्ने कारण उल्लेख गरेका छन्।

वैदेशिक रोजगार बचतपत्रकोबिक्री एजेण्टका १६ प्रतिनिधिहरुसँग गरिएको इमेल सर्वेक्षण अनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधनी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको उल्लेख गरेका छन्।

त्यसैगरी, काठमाडौं स्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षण अनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका छन्।

नेपाली नागरिकको वैदेशिक रोजगारीमा आकर्षण बढिरहेको सन्दर्भमा एकातर्फ विप्रेषण आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र अर्कोतर्फ सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको शुरुवात भएको हो ।

वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन यसको ब्याजदर तुलनात्मक रुपमा उच्च हुने गरेको छ । यस्तो बचतपत्र आवश्यकता अनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा लिन सकिने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड वैदेशिक रोजगार बचतपत्र आव्हान भएकोमा जम्मा ७६ करोड २३ लाख (४.९%) मात्र बिक्री भएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको छ ।

यस अध्ययनले वैदेशिक रोजगार बचतपत्र प्रवद्र्धनको लागि देहाय बमोजिमका नीतिगत तथा प्रक्रियागत सुधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औल्याएको छ ।

नीतिगत सुधारः

(क) वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुको साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउने ।

(ख) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउने । यद्यपी, कतिपय मुलुकहरुको कानूनले यस्तो बन्देज लगाएको सन्दर्भमा श्रम संझौतामा समावेश गरी लगानी गर्न सक्ने व्यवस्था मिलाउन पहल गर्ने ।

(ग) नेपाल सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचपतत्र छुट्टा छुट्टै निकाल्नु भन्दा एकै प्रकारको बचतपत्रको व्यवस्था गर्ने तर गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीलाई बचतपत्र खरिदमा विनिमयदर मार्फत्सहुलियत दिने ।

(घ) सरकारले बजेट घाटा परिपूर्तिको लागि बचतपत्र निष्काशन गर्ने प्रचलन रहेकोमा आगामी वर्षहरुमा मुलुकको सर्वाधिक महत्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन बचतपत्र निष्काशन गर्ने ।

प्रक्रियागत सुधारः

(क) बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा बचतपत्र धनीको बैंक खातामा सोझै उपलब्ध हुने व्यवस्था मिलाउने ।

(ख) बचतपत्रको प्रमाणपत्र तत्काल उपलब्ध हुने वा अनलाइन मार्फत प्राप्त हुने व्यवस्था मिलाउने ।

(ग) हाल बचतपत्र वर्षको एकपटक छोटो अवधिका लागि मात्र आव्हान हुने गरेकोमा आर्थिक वर्षको शुरुमा निष्काशन गर्ने र आव्हान रकम बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउने ।

प्रचार–प्रसारमा जोड दिनेः

(क) सामाजिक सञ्जालको उपयोग गरी वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसार व्यापक बनाउने ।

(ख) नेपालबाट वैदेशिक रोजगारीका आकर्षक गन्तव्य रहेका मुलुकस्थित नेपालका कुटनीतिक नियोग मार्फत् वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारमा तीव्रता दिने ।

(ग) रोजगारीमा जाने व्यक्तिलाई श्रम विभाग, वैदेशिक रोजगार कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्क मार्फत् वैदेशिक रोजगार बचतपत्रको फाइदाका सम्बन्धमा ब्रोसर वा पुस्तिकाका माध्यमबाट जानकारी गराई प्रचारप्रसार गर्ने ।

(घ) रोजगारीमा जाने व्यक्तिको लागि आयोजना गरिने अभिमुखीकरण तालिममा वैदेशिक रोजगार बचतपत्रको जानकारी अनिवार्य बनाउने ।

नेपाल सरकारबाट आन्तरिक ऋण परिचालनमा ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र उपयोगमा ल्याइएको छ । आन्तरिक ऋण परिचालनका यी उपकरणहरु मध्ये आर्थिक वर्ष २०६६।६७ देखि आव्हान हुन थालेकोवैदेशिक रोजगार बचतपत्र तुलनात्मक रुपले नयाँ उपकरण हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको बचत बैंकिङ्ग प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्काशन गर्न शुरुवात गरिएको हो ।

गैर आवासीय नेपाली नागरिक एवं वैदेशिक रोजगारीमा रहेका वा फर्किएको ६ महिना अवधि व्यतित नभएका नेपाली नागरिक र नीजका एकाघर परिवारकाले यो उपकरणमा लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

वैदेशिक रोजगार बचतपत्र आव्हान हुन थालेको करिब डेढ दशक भएतापनि यसबाट अपेक्षित मात्रामा आन्तरिक ऋण परिचालन हुन सकेको छैन ।  यसै सन्दर्भमा यस विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना अनुसार वैदेशिक रोजगार बचतपत्रको स्थिति र यसको प्रवद्र्घनका उपायहरु सम्बन्धी यो अध्ययन सम्पन्न गरिएको हो ।

यो अध्ययन मूलतः बचतपत्र खरिदकर्ताहरू, बिक्री एजेण्ट, म्यानपावर व्यवसायीका साथै सम्बन्धित व्यक्ति र निकायहरुसँग गरिएकोसर्वेक्षण र अन्तरक्रियामा आधारित रहेको छ । अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगार बचतपत्रको प्रवद्र्धनको लागि आवश्यक नीतिगत र प्रक्रियागत सरलीकरण तथा सुधारका उपायहरु प्रस्तुत गरिएको राष्ट्र बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।