खानेपानीमन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालको शुद्ध पानी विदेश निर्यात गर्न सकिने बताए ।
विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्दै उनले भने, “म विदेश गएका बेला रसुवाको पानी खान पाएको थिएँ, कसरी त्यहाँ पुग्यो थाहा भएन तर खुसी लाग्यो । अब हामीले हिमालको शुद्ध पानी कसरी तेस्रो मुलुकमा निर्यात गर्न सक्छौँ, त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।”
त्यस्तै मन्त्री यादवले जनताका काम छिटोछरितो एवं सहजरूपमा सम्पन्न गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले भने,“म भोलिको काम आज, आजको काम अहिले गर्ने किसिमको व्यक्ति हुँ र मन्त्रालयका कर्मचारी साथीहरूसँग पनि सोहीअनुरुप काम गर्न अपेक्षा राखेको छु । नागरिकको काम कुनै पनि बहानामा कर्मचारीको टेबलमा रोकिनुहुँदैन । जनताका काम छिटोछरितो गरौँ ।”
मन्त्री यादवले सय दिनमा भएका कामको प्रगति विवरण देखाउन सबै कर्मचारीलाई निर्देशनसमेत दिए । “कर्मचारी सबैको कामको लेखाजोखा हुन्छ, मेरो कामको पनि मूल्याङ्कन हुने छ”, उनले भने,“हामीले सय दिनमा के–कति राम्रा काम गर्यौँ आआफ्ना सबैको विवरण तयार राख्नुहोला ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया