नबिल बैंकको खुद नाफा ७ अर्ब ६ करोड, गत वर्षको तुलनामा १०.२३ % ले बढ्यो


नबिल बैंकले असार मसान्तसम्ममा बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेर १६ अर्ब २० करोड ७० लाख रुपैयाँमा सिमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेर २० अर्ब २० करोड २६ लाख रुपैयाँमा सिमित भएको छ भने सञ्चालन मुनाफा ३.५१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत झरेको छ भने इम्पेरमेन्ट चार्ज ३ अर्ब २२ करोडमा सीमित भएको छ। बैंकको निक्षेप १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।