रेड जोनमा राति यातायातका साधन सञ्चालन नहुने


सुदूरपश्चिम प्रदेशमा अविरल वर्षाको पूर्वानुमानसँगै ‘रेड जोन’ कायम गरिएका क्षेत्रमा रातिको समयमा यातायातका सवारीसाधनको आवागमन नगर्ने÷नगराउने निर्णय गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका सदस्य र यातायात व्यवसायीलगायतको उपस्थितिमा आज धनगढीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

विपद्को जोखिमलाई मध्यनजर गरेर पहाडी जिल्लातर्फ जाने यातायातका सवारीसाधन ‘रेडजोन’ कायम गरिएको अवधिसम्म राति ८ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्ममा आवागमन नगर्ने\नगराउने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

उनले भने, “अविरल वर्षाको पूर्वानुमानसँगै ‘रेडजोन’ घोषणा भएपछि पहाडी क्षेत्रमा पहिरो जाने र गाडी दुर्घटना हुनसक्ने जोखिम हुनसक्छ, यस्तो अवस्थामा डोटी र डडेलधुरा जिल्ला प्रशासन कार्यालयले रातिको समयमा गाडी चल्न नदिने निर्णय गरेका छौँ ।”

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले आज र भोलि सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी डडेलधुरा र बैतडीमा अविरल वर्षाका पूर्वानुमान गरेको उल्लेख छ । जसले गर्दा ती जिल्लालाई उच्च जोखिममा राखिएको छ । यस्तै दार्चुला, अछाम जिल्लालाई मध्यम जोखिम र बाजुरा र बझाङ जिल्लालाई न्यून जोखिममा राखिएको छ ।

पछिल्लो २४ घन्टामा कैलालीको चुरे पहाडी क्षेत्र गर्बा दरबार आसपासमा ६० दशमलव ८ मिलिमिटर, धनगढी विमानस्थल क्षेत्रमा ३९ दशमलव ४ मिमी, कञ्चनपुरको भम्कामा ५७ दशमलव ७ मिमी वर्षाको मापन गरिएको विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।