आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट


आर्थिक सङ्टकमा परेको श्रीलङ्काको अर्थतन्त्रमा ३९ वर्षमा पहिलो पटक उपभोक्ता मूल्यमा गिरावट आएको सरकारी आँकडाले सोमबार देखाएको छ ।

आँकडाअनुसार सेप्टेम्बरको मुद्रास्फीति ऋणात्मक ०.५ प्रतिशतमा झरेको छ । जनगणना तथा तथ्याङ्क विभागको आँकडाले अगस्टमा शून्य दशमलव पाँच प्रतिशत मुद्रास्फीति रहेकामा सेप्टेम्बरमा खाद्य र गैर–खाद्य वस्तु दुवै वस्तुको मूल्यमा गिरावट आएर अपस्फीति भएको देखाएको छ ।

यसअघि सन् १९८५ अक्टोबरमा ऋणात्मक २.१ प्रतिशतको अपस्फीति दर्ता गरिएको थियो । दुई वर्षअघि श्रीलङ्कामा अभूतपूर्व आर्थिक सङ्कटको चरम अवस्थामा मुद्रास्फीति ६९.८ प्रतिशत पुगेको थियो ।

खाद्यान्न, इन्धन र औषधिको चरम अभावलले महिनौँसम्म विरोध प्रदर्शन हुँदा अन्ततः तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षले अस्थायी रूपमा मुलुक छाड्न र सन् २०२२ जुलाईमा पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो । उनका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले २ अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को राहत प्याकेज प्राप्त गरेका थिए । अर्थतन्त्रलाई स्थिर बनाउन उनले करका दर र केही सामाग्रीको मूल्य समेत बढाए ।

तथापि सेप्टेम्बर महिनाको सुरुवातमा भएको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे पराजित भए ।

निर्वाचनमा विजयी अनुरा कुमारा दिसानायकेले आइएमएफ कार्यक्रमलाई जारी राख्ने तर यसले लागु गरेका केही कठोर मितव्ययी उपायलाई खुकुलो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।