उद्यमीकाे कथा

खाजा खर्च कटाएर १० हजारबाट सुरु गरेको ‘अर्बान गर्ल’को फोर्ब्ससम्मको यात्रा

अनलाइन सपिङको सपना साकार गरेका २ युवाकाे कथा


सन् २०१२ मा नेपालमा फाट्टफुट्ट ई–कमर्स स्टार्टअपका रूपमा सुरु भए पनि अनलाइन माध्यमलाई विश्वास गर्ने र अनलाइनमार्फत् नै सपिङ गर्ने प्रयोगकर्ताको संख्या एकदमै कम थियो । तथापि विश्वव्यापी रूपमा इ–कमर्सको चार्म बढ्दै थियो ।

विश्वव्यापी ट्रेन्डको विश्लेषण गरिराख्दा नेपालमा पनि इ–कमर्सलाई विकास गर्न सकिन्छ कि भन्ने प्रश्न काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा बिबिए अध्ययन गर्दै गरेकी निकिता आचार्य र एपेक्स कलेज अफ म्यानेजमेन्टमा आइटी विषय अध्ययन गरिरहेका किरण तिम्सिनाको मनमा उब्जियो । फरक कलेज र फरक विषय अध्ययन गर्दै गरेका निकिता र किरण केही फरक गर्न चाहन्थे ।

किरण आइटीको विद्यार्थी भएकाले प्रविधिको प्रयोग गरी नेपालमा नयाँ आयामको विकास गर्न चाहन्थे । निकिता गरगहना र नेपालका उत्पादन भएका सामग्रीहरूको बजारीकरण गर्ने इच्छा राख्थिन् ।

दुवै एकै कार्यालयमा काम गर्थे । के गर्ने भनी लामो समय ‘ब्रेन स्ट्रमिङ’ र अध्ययन गरे । नेपालको मात्रै नभई ग्लोबल ट्रेन्डका बारेमा समेत गहिरो अध्ययन गरी अन्ततः किरणको प्राविधिक ज्ञान र निकिताको रुचीलाई समायोजन गरी सुरु भयो– अर्बान गर्ल ।

‘पकेट–मनी’ काटेर लगानी

विद्यार्थी जीवनमा उसै पनि धेरै पैसा हुँदैन, तर दृढ सोच र इच्छाशक्ति भने भरपूर हुने गर्छ । केही न केही त गर्नु नै पर्छ भन्ने हुटहुटीका साथ अघि बढेका किरण र निकितालाई आर्थिक समस्याले नसताएको भने होइन । सुरुआती दिनहरूलाई सम्झिँदै निकिता भन्छिन्, ‘हामीले ‘लिन बिजनेस मोडल’ अपनाएका थियौँ । दुवै जनाले पकेट–मनी बचत गरी जम्मा गरेको १० हजार रुपैयाँ लगानी गरेका थियौँ ।’

‘कुन क्षेत्रमा काम गर्दा सफल भइएला भनी हामीले हिट एन्ड ट्रायल पनि धेरै गर्‍यौँ । उद्यमी भइन्छ, हाम्रो स्टार्टअप सफल हुन्छ भन्ने हामीलाई विश्वास त थिएन । तर, कर्तव्यनिष्ठ भएर मिहिनेत गरिरह्यौँ,’ उनी अगाडि भन्छिन् । निरन्तरको प्रयास र कडा मिहिनेतले थोरै लगानीबाट सुरु भएको अर्बान गर्ललाई एक सफल स्टार्टअपका रूपमा स्थापित गराएको छ ।

२ जनाले सुरु गरेको व्यवसायले अहिले ६० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । प्रत्यक्ष र परोक्ष रूपमा मानिसको जीवनशैली सहज बनाइरहेको छ ।

अर्बान गर्ल सुरु भएको १२ वर्ष भइसकेको छ । यो १२ वर्षमा अर्बान गर्लको पहिचान मात्रै चुलिएको छैन, नेपालीले अनलाइन सपिङ गर्ने कल्चर नै स्थापित भएको छ ।

उद्यमी बन्ने पहिलो पुस्ता

निकिता र किरण दुवै आफ्नो परिवारका पहिलो उद्यमी हुन् । प्लस टु विज्ञान संकाय अध्ययन गरेकी निकिताले आफ्नो रुची पहिचान गरी व्यवस्थापन संकायको बिबिए पढ्न सुरु गरेकी थिइन् । बुबाआमा छोरीको राम्रो भविष्यको कल्पना गर्थे । आफ्नो सन्ततिको भविष्य उज्ज्वल भएको देख्ने सपना कुन आमाबुबाको हुँदैन र ? ‘छोरीले बैंकमा जागिर खाओस्’ भन्ने बुबाआमाको चाहना थियो ।

तर, निकिता भने अर्बान गर्ललाई नै ग्रो गर्ने पक्षमा लागिन् । परिवारमा कोही पनि उद्यमी नभएकाले सुरुआती दिनहरूमा आफूले गरेको काम घरमा बुझाउन गाह्रो भएको उनले स्मरण गरिन् ।

यता, किरणको परिवारमा पनि उद्यमी बन्ने पहिलो पुस्ता उनी नै हुन् । किरणका आमाबुबाको अपेक्षा पनि निकिताका आमाबुबाको जस्तै थियो– राम्रो जागिर, राम्रो कमाइ । तर आफ्नो रुचीमा काम सुरु गरेका किरण र निकिताले निरन्तर काम गरिरहे ।

कडा मिहिनेतपछि अर्बान गर्लले पाएको सफलता देख्दा अहिले दुवैका आमाबुबा प्रसन्न छन् । आफ्नो परिवारमा उद्यमशीलताको जग बसाल्ने निकिता र किरणको हृदय खोलेर प्रशंसा गर्छन् ।

प्रोडक्ट लाइन विस्तार गर्ने क्रममा सुरु भएको ‘युजी केक्स’

अर्बान गर्लमार्फत् उपहार दिने सामग्री, प्रिन्ट गरिएको कप, किरिङ, वाटर बोटल, गरगहना, टिसर्ट प्रिन्ट तथा अन्य सामग्रीहरूको बिक्री भइरहेको थियो । बिक्री बढ्दै जाँदा आम्दानी पनि राम्रो भयो । ग्राहकहरूको विश्वास अर्बान गर्लले पाइराखेको थियो । सोही समयमा निकिता र किरणको मनमा नयाँ आइडिया आयो– अनलाइनमार्फत् नै केक बिक्री गर्ने ।

सन् २०१४ मा आफ्नो प्रोडक्ट लाइन विस्तार गर्दै जन्मियो– युजी केक्स । सुरुआती दिनहरूमा स्थानीय बेकरी हाउससँगको सहकार्यमा युजी केक्सले अर्डर लिने र केक डेलिभरी गर्ने गर्थ्यो । तर, त्यसो गरिरहँदा ग्राहकले अर्डर गरेको समयमा केक तयार हुने समस्या देखिन थाल्यो । उक्त समस्याको समाधानस्वरुप युजी केक्सले आफ्नै बेकरी स्थापना गर्‍यो ।

सन् २०१६ मा बेकरीको स्थापना भएपछि केकको उत्पादनदेखि डेलिभरीको सम्पूर्ण काम नै युजी केक्सले सुरु गर्‍यो । केक बनाउन युजी केक्सले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई तालिम दियो । तालिममा सहभागी भएका कतिपय महिलाहरूले युजी केक्समै रोजगारीको अवसरसमेत प्राप्त गरे ।

गण्डकी डिफ एसोसिएसन–काठमाडौँ च्याप्टरमा संलग्न सदस्यहरूलाई युजी केक्सले निःशुल्क तालिम र रोजगारीसमेत दियो । यसरी युजी केक्स पनि ग्राहकहरूको मनमा बस्न सफल भयो ।

अधिकांशको मनमा अहिले पनि अनलाइन केक अर्डर गर्ने भनेपछि युजी केक्स नै दिमागमा आउँछ । बिजनेसले बजारमा राम्रो रेस्पोन्स पाइरह्यो । युजी केक्स काठमाडौँबाट पोखरासम्म विस्तार भयो ।

कोभिड–१९ : अभिशाप र वरदान दुवै

सन् २०१९ मा चीनबाट सुरु भएको कोभिड–१९ संक्रमण विश्वभर फैलियो । सन् २०२० को अप्रिल महिनामा नेपालमा पनि फाट्टफुट्ट कोभिड–१९ संक्रमण सुरु भएपछि सरकारले लकडाउन घोषणा गर्‍यो । जसको प्रभाव नेपालको समग्र अर्थतन्त्रमा पर्‍यो, युजी केक्समा नपर्ने कुरै भएन ।

कोभिड–१९ संक्रमण सुरु हुनुअघि युजी केक्सले आफ्नो शाखा पोखरामा विस्तार गरेको थियो । तर, लकडाउन भएपछि पोखरामा स्थापना गरेको युजी केक्सको आउटलेट बन्द गर्न सञ्चालक टिम बाध्य भयो । पोखराको आउटलेट बन्द भए पनि काठमाडौँमा भने युजी केक्सले राम्रो रेस्पोन्स पाइरह्यो ।

साथै निकिता र किरणसहितको अर्बान गर्ल टिमले कोभिड–१९ को समयमा उपभोक्तालाई आवश्यक पर्ने अत्यावश्यक सामग्रीको डेलिभरी गर्ने उद्देश्यले युजी बजार लन्च गरे । युजी बजारले पनि उपभोक्ताको मन जित्न सफल भयो । यसरी कोभिड–१९ अर्बान गर्लका लागि अभिशाप र वरदान दुवै सावित भएको छ ।

युजी केक्सदेखि युजी स्कुल अफ केक्ससम्म

युजी केक्सले केकका साथै कुकिजको समेत उत्पादन र बिक्री वितरण गर्छ । त्यति मात्रै नभई युजी केक्सले केक बनाउने तालिम प्रदान गर्दै आएको छ । सुरुआती समयमा युजी केक्सले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई निःशुल्क केक मेकिङको ट्रेनिङ दिँदै आएको थियो ।

यसलाई थप व्यवस्थित बनाउँदै युजी केक्सले ‘युजी स्कुल अफ केक्स’का रूपमा विस्तार गर्दै केक बनाउने तालिम केन्द्रकै रूपमा काम सुरु गर्‍यो ।

अर्बान गर्ल इन्कर्पोरेसनअन्तर्गत सञ्चालनमा रहेको युजी केक्स एक सफल प्रोडक्ट लाइन सावित भएको छ । युजी केक्सले विभिन्न कार्यक्रम, समारोह तथा विशेष दिनका लागि स्पेसल डिजाइनमा केक निर्माण र डेलिभरी गर्दै आएको छ । एकै दिनमा ३००–४०० अर्डरहरू आइरहेको निकिताले बताइन् ।

सन् २०१२ मा अनलाइन गहना बेच्ने निकिताको इच्छा र किरणको ज्ञानको समायोजनबाट बनेको अर्बान गर्ल सन् २०२० मा फोर्ब्स ३० अन्डर ३० को सूचीमा परेको थियो । भनिन्छ, १०० वटा स्टार्टअप सुरु हुँदा सफल हुने ५–१० वटा मात्रै हुन्छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा विभिन्न सम्मानबाट सम्मानित भएको अर्बान गर्ल एउटा सफल स्टार्टअपका रूपमा स्थापित भएको छ ।

दृढ इच्छाशक्ति र कडा मिहिनेतका साथ अघि बढेमा नेपालमा नै धरै अवसर रहेको निकिता बताउँछिन् । आगामी दिनमा प्रोडक्ट लाइन विस्तार गर्ने र थप मिहिनेत गरी अर्बान गर्ल तथा युजी केक्सले उपभोक्ताबाट पाएको साथलाई यथावत् राख्ने निकिताको योजना छ ।