भारी वर्षापछि आएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति, २२४ जनाको ज्यान गयो


असोज ११ र १२ गते परेको भारी वर्षासँगै नेपालमा बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ। सरकारी स्रोतका अनुसार, प्रारम्भिक अनुमानमा १७ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले बाढी, पहिरो, र डुवानबाट २१ जिल्ला प्रभावित भएको जानकारी दिए। ती जिल्लाहरूमा काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, र मकवानपुर विशेष रूपमा प्रभावित छन्।

यो प्राकृतिक प्रकोपका कारण २२४ जनाको ज्यान गएको छ भने २४ जना अझै बेपत्ता छन्। यससँगै, १५८ जना घाइते भएका छन्।

सरकारी विवरणअनुसार, बाढी, पहिरो, र डुवानले खानेपानीको संरचनामा ३ खर्ब ५५ करोडको क्षति पुर्याएको छ भने सडक पूर्वाधारमा २ अर्ब ५२ करोडको क्षति भएको छ। यस्तै, ऊर्जा क्षेत्रमा ४ अर्ब, सिँचाइमा २ अर्ब, र कृषि तथा पशुपालनमा ६ अर्बको क्षति पुगेको अनुमान गरिएको छ।

मुख्य सचिव अर्यालका अनुसार, कृषि बालीमा भएको क्षतिको विस्तृत विवरण एक महिनाभित्र तयार हुनेछ। सरकारले खोज तथा उद्धार कार्य दुई दिनभित्र सम्पन्न गर्ने र राहत सामग्रीलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने योजना बनाएको छ। त्यस्तै, घरबारबिहीन भएकाहरूलाई अस्थायी आवास बनाउन सरकारले तोकेको स्थानमा पुनःस्थापनाको व्यवस्था गरिने जानकारी पनि दिइएको छ।

सरकारले प्रकोप प्रभावित जिल्लाहरूमा राहत तथा पुनःस्थापना कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।