बाढीबाट मधेसमा ५ अर्ब बढीको क्षति


हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार ५ अर्ब बढीको हानी भएको छ ।

अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए । यससँगै सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ ।

मङ्गलबारसम्मको प्रारम्भिक विवरणानुसार विपद्बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए । कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ । मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ ।

मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा ५ अर्ब ३३ करोड ७५ लाखको क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ४२ हजार ६० हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ ।

यसैगरी चार हजार ३९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा १ करोड ३२ लाख, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा ३ करोड ४० लाखको क्षति भएको अनुमान गरिएको छ ।

कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार २ हजार ३०० हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षति अनुमान गरिएको जनाउनुभयो । डुबानका कारण १४ हजार २०५ वटा पशुपक्षी मर्दा ७६ लाख बराबरको क्षति भएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ । रौतहटमा १० हजार २४३ हेक्टरको धान बाली प्रभावित हुँदा १ अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा ९ हजार ३६७ हेक्टरको धान बाली नोक्सान हुँदा १ अर्ब २२ करोड ४० लाख ४० हजार, बारामा ६ हजार चार सय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।

यसैगरी सर्लाहीमा ६ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा ६० करोड, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ ।

पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ । मधेसमा १४ हजार २०५ पशुपक्षी मरेका छन् भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन् । धनुषामा ७०० हेक्टर बालीमा क्षति भएको छ ।