गरे के हुँदैन ?

२८ बर्से महादेवको कृषिप्रतिको लगाव, अकबरे खेतीबाट ६ महिनामै १० लाख कमाइ

सहरबाट गाउँ फर्किएर माटोमा रमाइरहेकाे कार्की दम्पती


काठमाडौँ । सानैदेखि खेती किसानीको भिडियो हेरेर रमाउने बागलुङकाे गलकोट नगरपालिकाका महादेव कार्की अहिले सफल किसान बनेका छन् ।

१४ वर्षको उमेरमै परिवार नै गलकोटबाट बसाइँसराइ गरेर चितवन गएपछि महादेवले आफ्नो अध्ययन चितवनमै पूरा गरे । होटल म्यानेजमेन्टमा स्नातक गरेका कार्कीलाई होटलहरूको रौनकले तान्न सकेन ।

उनमा कृषि गर्ने हुटहुटी बढ्दै गयो । चितवनमा अरूले उब्जाएका तरकारी तथा अन्नबाली हेर्दाहेर्दै मैले पनि कृषि गर्छु भन्ने सोच उनको मनमा खेलिरह्यो ।समय बित्दै गयो, उनले स्नातक पूरा गरे । चितवनमै कृषि गर्ने उद्देश्यले उनले जग्गा पनि हेरे तर लिजमा लिएर कृषि गर्दा भाडा महँगो हुने देखेपछि महादेवले आफ्नै पुर्ख्यौली थलो फर्किने निर्णय गरे ।

भनिन्छ- १२ वर्षमा खोला पनि फर्किन्छ । खोला फर्किएला नफर्किएला, तर कृषि कर्म गर्ने दृढ सोच बोकेर कार्की गलकोट फर्किए । मान्छेहरू गाउँ छाडेर सहर पस्ने लहर चलिरहेको समयमा सहरबजारबाट आफू गाउँ फर्किँदा गाउँलेहरूले अनौठो मानेको उनको अनुभव छ ।

‘चितवनको महँगो जग्गामा होइन, आफ्नै गाउँठाउँको जग्गामा खेती गर्छु भनी फर्किएँ र सुरुमा कुखु्रापालन गरेँ,’ कार्की भन्छन्, ‘चितवनमा जग्गाको भाउ महँगो थियो । यता आफ्नो जग्गामा खेती गर्दा भाडा तिर्नुपर्छ भन्ने पनि भएन ।’

करिब १ वर्ष कुखुरापालन गरेका कार्कीले त्यसमा भविष्य देखेनन् । स्थानीय बजार सानो भएकाले धेरै माग नहुने र पोखरा, नारायणगढ पुर्‍याउँदा आफ्नै खर्च बढी हुने भएपछि उनले कुखुरापालन छाडेर बाख्रापालनलाई आफ्नो पेसा बनाए ।

४० लाख खर्च गरेर बाख्रापालन

उमेरले २४ वर्ष टेकेलगत्तै महादेवले ४० लाख खर्च गरेर बाख्रापालन सुरु गरे । त्यतिबेला गाउँघरमा बोयर बाख्रापालन भर्खरभर्खर सुरु हुँदै थियो । २०० बाख्राबाट सुरु गरे । कर्मचारी थपे ।

बाख्रापालनबाट राम्रो आम्दानी हुँदै गायो । बजारीकरणको समस्या थोरधेर झेल्नुपरे पनि पसलेहरू खोरमै आएर खसीबोका लिएर जान्थे । तर पनि महादेवको मन स्थिर हुन सकेन ।

सानै उमेरदेखि मनमा बसेको कृषि कार्यले उनलाई एकतमासले तानिरह्यो । हाल उनको बाख्रा फार्ममा ६० खसीबोका छन् ।अन्ततः उनले ३ वर्षअघि अकबरे खुर्सानीको खेती गर्ने उद्देश्यले ब्याड राखे । त्यति नै बेला १५० वटा बाख्रा उनको फार्ममा थिए ।

बाख्रापालनका लागि पनि समय दिनुपर्ने र अकबरेका लागि पनि समय दिनुपर्ने भएपछि उनले राखेको अकबरेको ब्याड बिग्रियो ।

गाउँदेखि सहर र नेपालबाट खाडी जानेको संख्या बढ्दै जाँदा उनका कर्मचारीहरूले पनि साथ छाडे । यसरी उनको कृषि गर्ने सपना ३ वर्षअघि एकपटक तुहिन पुग्यो । तर आफ्नो उद्देश्यलाई लिएर दृढ महादेवले सो सपना पुनः ब्युँताए । र गत वैशाख महिनामा श्रीमतीको साथमा अकबरे खेती सुरु गरे ।

४ वर्षदेखि बाख्रापालन गर्दै आएका कार्कीले बाख्राबाट पनि राम्रो आम्दानी गर्दै आएका छन् । आगामी दिनमा अकबरे खेतीलाई नै बढी समय दिने उनी बताउँछन् ।

६ महिनामै १० लाख आम्दानी

बाख्रापालनसँगै गत वैशाखमा अकबरे खुर्सानीको खेती सुरु गरेका महादेवले ६ महिनामा नै १० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेकाे छ । करिब १० रोपनी क्षेत्रफलमा ६ हजारभन्दा बढी अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उनी बिहानदेखि साँझसम्म बारीमै व्यस्त हुन्छन् ।

करिब ३ लाख रुपैयाँ लगानीमा सुरु गरेको खुर्सानी खेतीबाट यो याममा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताए ।

६ महिनामै १० लाखको अकबरे बिक्री गरेका कार्की खेती विस्तार गर्ने योजनामा छन् । अकबरेको माग बढ्दै गएकाले हर्षित बनेका कार्की आगामी समयमा उत्पादन बढ्दै जानेमा विश्वस्त छन् । प्रतिकिलो २०० रुपैयाँमा करिब ५ हजार किलो अकबरे बिक्री गरिसकेको उनको भनाइ छ । अझै केही मात्रामा खुर्सानी टिप्न बाँकी रहेको उनी बताउँछन् ।

मिहिनेती कार्कीलाई श्रीमती र परिवारको साथ

चितवनबाट गलकोट फर्किँदा असन्तुष्ट बनेका महादेवका बाबुआमा अहिले भने उनलाई सहयोग गर्न थालेका छन् । श्रीमती सन्दीपाले त उनलाई भरपूर साथ दिएकी छिन् । अकबरे खुर्सानीको बिरुवा लगाउनेदेखि राताम्मे भएका अकबरे टिप्ने, बजारीकरण गर्न महादेवकी श्रीमती सन्दीपा साथमै हुन्छिन् ।

 

अझ गज्जब के छ भने, महादेवका बुबाआमा नारायणगढ बसोबास गर्ने भएकाले छोराको उत्पादनलाई बुबाआमाले नै बिक्री वितरण गर्दै आएका छन् । गर्वका साथ उनी भन्छन्, ‘हालसम्म बाह्य बिक्रेता खोज्नुपरेको छैन । बुबाआमाले नै अकबरे बिक्रीवितरण गरिरहनुभएको छ ।’ नेपालमै बसेर छोराले मनग्य आम्दानी गरेको देख्दा बुबाआमा पनि मख्ख छन् । श्रीमती सन्दीपा पनि खुसी छिन् ।

छैन बजारकाे समस्या

अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताए । अहिले अकबरेको माग नारायणगढ मात्रै नभई पोखराबाट पनि आउने गरेको छ ।

‘धेरै वर्ष चितवनमा बसेपछि गाउँ धेरै सम्भावना देखेर आफ्नै ठाउँ फर्किएँ । सुरुमा कुखुरापालन गरेँ तर खासै राम्रो भएन । त्यसपछि बाख्रापालन गरेँ, राम्रो हुँदै गयो । अहिले अकबरेलाई जोड दिएको छु । यसबाट पनि राम्रो हुँदै छ,’ कार्की भन्छन्, ‘यसका पनि चुनौती छन् । अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो । तर त्यसो हुन सकेन । विस्तारै ज्ञान पनि हुँदै गएको छ । अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु ।’

स्थानीय उत्पादन बढाउने भावी योजना

बाख्रापालन र अकबरे खुर्सानी खेतीमा रमाइरहेका महादेवले आगामी समयमा अकबरेको अचार उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

स्वास्थ्यवर्धक मानिने टिम्मुरको खेती सुरु गर्ने उनको योजना छ । स्थानीय उत्पादन ‘बाँको’को गुन्द्रुक बनाउने र आफ्नो स्थानीय उत्पादनलाई मानिसहरूको घरघरमा पुर्‍याउने सपना उनले बुनेका छन् ।

निराशा मिसिएको भावमा थोरै आशा भर्दै उनी भन्छन्, ‘बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरूलाई पनि यहाँ धेरै सम्भावना रहेको बुझाउने गरी मिहिनेत गर्नेछु ।’

साथै विदेश पलायन भएका मानिसहरूलाई उनी त्यहाँ कमाएको पैसा नेपाल फर्केर लगानी गर्न र सिकेको सीपलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्न सुझाव दिन्छन् ।