दसैंमा घुम्न जाने सोच्दै हुनुहुन्छ ? यी हुन् काठमाडौँ बाहिरका ८ गन्तव्य


पछिल्लो समय घुम्ने चलन बढेको छ । त्यसमाथि पनि वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैं । दसैँतिहारको छेक घुम्नलाई उपयुक्त मौसम भएकोले पनि मानिसहरु यतिबेला घुम्न धेरै रुचाउँछन् । तपाईं पनि दसैंको बिदामा नेपाल चिन्न र घुम्न चाहनुहुन्छ भने यी गन्तव्य उपयुक्त हुन सक्छ ।

जोमसोम\मुक्तिनाथ
हिमालपारीको जिल्ला मुस्ताङको राजधानी हो– जोमसोम । त्यहीँबाट जाने अर्को गन्तव्य हो– मुक्तिनाथ मन्दिर । यो तीन रात ४ दिनका लागि उपयुक्त गन्तव्य हो । १० हजार देखि १२ हजार रुपैयाँमा मुक्तिनाथ पुगेर कागबेनी जामसोम लगाएका ठाउँ घुमेर काठमाडौँ फर्किन सकिन्छ ।

जोमसोम पुगेपछि मान्छे नै उडाउला जस्तो हावा, बिचमा हिउँ पग्लेर आएको कालीगण्डकी, कुनापट्टी डरलाग्दा पहाड अनि दक्षिणतिर टाउकैमाथिको निलगिरी हिमालले मुस्ताङ पुग्ने जोकोहीलाई मनमोहक बनाउन सक्छ ।

काठमाडौंबाट म्याग्दीको सदरमुकाम बेनीसम्म बस र जीपमा सजिलै जान सकिन्छ । बेनीबाट जोमसोमको लागि अर्को बस र जीपमा जानु पर्दछ । बेनीबाट जोमसोमको लागि बस नपाएमा भने मुस्ताङको घाँसासम्म अनि त्यहाँबाट जोमसोमको लागि अर्को बस लिन सकिन्छ ।

लाङटाङ, नाम्चे ट्रेकिङ

यसपालीको दसैँमा ४ दिन दसैँको बिदा र एकदिन शनिबार गरी ५ दिन सरकारी तथा निजी कार्यालयहरु बन्द रहने छन् । त्यसैले यसको लागि काठमाडौंबाट नजिकैको लाङ्टाङ नजिक र छोटो ट्रेकिङ रुट उपयुक्त हुन सक्छ । बिदाको ४ दिन सुन्दरीजलबाट हिँडाइ सुरु गरेर क्यान्जिङ उपत्यकासम्म पुगेर आउँन ठिक्कको समय हुन्छ ।

हिँड्न रुचाउनेका लागि अर्को रुट भनेको सोलुखुम्बुको लुक्लाबाट नाम्चेसम्म हो । पहिलो दिन काठमाडौंबाट लुक्लासम्म जहाजमा जान सकिन्छ। लुक्लाबाट माथि जान दुईदिन र १ दिन ओर्लन समय लाग्छ । फर्केर लुक्ला आएर एकदिन बस्न सकिन्छ । चौथो दिनको दिन काठमाडौं आउन सकिन्छ । यसको लागि बस वा जिपको प्रयोग गरी जाने हो भने प्रतिव्यक्ति अनुमानित ७ हजार रुपैयाँसम्म लाग्छ ।

पोखरा

नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । पोखरामा तालै तालको नगरी, आँखैअगाडि देखिने माछापुच्छ्रे हिमाल मनै रोमाञ्चित हुन्छ । पोखरा घुम्न ५ दिनको बिदामा प्रर्याप्त हुन्छ । पाँ दिनको अवधिमा पोखराबाट नजिकैका गन्तव्य धम्पुस, घान्द्रुक, लान्द्रुक लगायतका ठाउँ पनि जान सकिन्छ ।

पोखरामा डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, डा केआई सिंह पुल, सेतो दोभान र अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयलगायतका ठाउँ घुम्न सकिन्छ ।
सराङकोट यहाँको अर्को आकर्षण हो । सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमाल लगायतको दृश्यावलोकन गर्न पाइन्छ । पोखराको लागि काठमाडौँबाट बुको यात्रा गर्ने हो भने ५ दिनको लागि १५ हजार रुपैयाँमा पुगेर फर्किन सकिन्छ ।

सौराहा
राजधानी काठमाडौंबाट ४ घण्टामा नै पुगिने गतव्य हो– सौराह । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनका लागि चर्चित रहेको छ । देशैभरी जताबाट पनि महेन्द्र राजमार्गको सौराह चोक झरेपछि टाँगा र अटो चढेर सौराह पुग्न सकिन्छ ।

चितवनको सौराहा पुग्ने पर्यटक जंगल, जनावर हेरेर रमाउँछन् । हात्ती, डुंगा तथा जीप सफारी गरी वन्यजन्तुको अवलोकन सौराहा आउने पर्यटकको मुख्य आकर्षण हो। सौराहा काठमाडौंबाट सौराहा जाने हो भने २ दिनमा फर्किन सकिन्छ । तर सौराहाका अलावा पटिहानी, मेघौली, देवघाट, वाल्मीकि आश्रम, सीतामाई थान जस्ता क्षेत्र पनि यहाँका प्रमुख पर्यटकीय केन्द्र हुन् । त्यसैले सौराहा जाँदा यी ठाँउहरुमा पनि पुग्न सकिन्छ ।

लुम्बिनी

गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुमघामको मुख्य आकर्षक केन्द्र बन्दै गएको छ । शान्त वातावरणमा रमाउने मान्छे लुम्बिनीमा रमाउने गर्दछन् । काठमाण्डौंबाट लुम्बिनीको गाडिमा जाने हो भने दुई दिनको समय छट्याउनु पर्छ । दुई दिनमा त्यहाँ भएका सबै गुम्बा घुम्ने सकिन्छ । यहाँको अर्को आकर्षण भनेको मोटरबोट हो । शान्ति दीप पछाडि रहेको केन्द्रीय नहरमा मोटरबोटिङ गर्न सकिन्छ ।

घोडेपानी र पुनहिल

अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँमा घुम्नको लागि उपयुक्त हुन सक्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत १६ वटा हिमालको अवलोकन गर्न सकिन्छ। बसको यात्रा गरी घोडेपानीसम्म पुग्न सकिन्छ भने घोडेपानीदेखि करिब एक घण्टाको उकालो पैदलयात्रा गरेपछि पुनहिलमा पुगिन्छ । पुनहिलबाट सुर्योदय, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, सिस्ने, मनास्लु रेञ्जका हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

बन्दीपुर

नेवार समुदायको बाहुल्यता रहेका तनहुँ जिल्लाको पुरानो बजार हो– बन्दीपुर । त्यहाँको आकर्षण भनेको प्राकृतिक दृश्यवलोकन नै हो । मुग्लिनबाट पोखरा जाँदा पर्ने डुम्रे बजारबाट ८ किलोमिटरको दूरीमा छ– बन्दीपुर छ । बन्दीपुुर पुग्न काठमाण्डौंबाट पोखरा जाने बसमा जान सकिन्छ । पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर शान्त भएकोले एकै ठाउँमा बसेर पनि दिन कटाउन सकिन्छ ।

बन्दीपुरमा भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत ठाँउ घुम्न सकिन्छ ।

खप्तड

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी भनेर चिनिन्छ ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पड दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू पनि यहाँका प्रमुख आकर्षण हुन् ।

काठमाडौँबाट करीब १२ घण्टाको समयमा बसमा धनगढीको अत्तरिया पुगिन्छ । हवाइजहाजमा पनि धनगढीसम्म जान सकिन्छ । अत्तरियाबाट खप्तड जानलाई बझाङ, बाजुरा, अछाम र डोटीबाट जाने प्रवेशद्वार बनाइएका छन् । तर पनि खप्तडबाट सबैभन्दा नजिक रहेको सहर बझाङ छान्नाको मेल्तडी पर्छ । मेल्तडीसम्म नै गाडी जान्छ । त्यहाँबाट खप्तड जान अढाई घण्टामात्र लाग्छ । बाजुराबाट पनि सडकबाट करीब आठ घण्टा समय लाग्छ । त्यस्तै अछामबाट खप्तड जाने हो भने पनि सवारीसाधन पुग्ने ठाउँबाट करिब पाँच घण्टा समय लाग्छ भने डोटीबाट खप्तड जाँदा मूल प्रवेशद्वार झिग्रानाबाट सात घण्टामा खप्तड पुगिन्छ । ५ दिनको समय लिएर खप्तड जान सकिन्छ ।