काठमाडौं रुम्जाटार उडान सुरु, भाडा साढे ४ हजार


यहाँको रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबार विमानस्थलमा पुनः उडान भएको हो ।

विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आज समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ । काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले अवतरण गरेको थियो ।

वर्षातका कारण आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।

यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरी खतिवडाले बताए । उनका अनुसार प्रत्येक साताको आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले सेवा दिने छन् । काठमाडौँ–रुम्जाटारको भाडा चार हजार पाँच सय तोकिएको छ ।