सेयर धितो कर्जामा नयाँ व्यवस्था


बैङ्क तथा वित्तीय संस्थाले मार्जिन कल गर्दा सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सक्ने भएका छन् ।

राष्ट्र बैङ्कले सेयरधितो कर्जाको मार्जिन कलमा थप नयाँ व्यवस्था गर्दै बैङ्क तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै मार्जिन कल गर्दा सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सकिने व्यवस्था गरेको हो ।

सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने व्यवस्था एकीकृत निर्देशनमा छ ।

“इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रूपमा सम्बन्धित प्रड्क्ट पेपरमा उल्लेख गर्नुपर्ने छ । मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सकिने छ,” एकीकृत निर्देशनमा भनिएको छ ।

ठूला जलविद्युत् ६० प्रतिशत निर्माणपछि पूँजीकृत ब्याज बैंकले नाफामा देखाउन पाउने

नेपाल राष्ट्र बैंकले जलविद्युत् परियोजनामा लगानी गर्ने बैंकहहरुलाई राहत पुग्ने गरी एकीकृत निर्देशिकामा संशोधन गरेको छ । राष्ट्र बैंकले ठूला जलविद्युत् आयोजनामा ग्रस अवधिमा पूँजीकृत भएको ब्याजलाई आम्दानीमा गणना गर्न सक्ने व्यवस्था गरेको हो ।

ब्याज पुँजीकरण गरिएका ५० मेगावाट वा सो भन्दा बढी क्षमताको जलविद्युत परियोजनामा उक्त परियोजनाको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको प्रमाणित भएपछि ब्याज पूँजीकरण गरिएको आवधिक कर्जामा रहेको रकमलाई ब्याज पुँजीकरण कोषबाट घटाएर संचित मुनाफा हिसाबमा सार्न सकिने भएको हो ।

ब्याज पुँजीकरण गरिएका अन्य परियोजनाको हकमा व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा ब्याज पूँजीकरण गरिएको आवधिक कर्जामा रहेको सम्पूर्ण रकमलाई ब्याज पुँजीकरण कोषबाट घटाएर संचित मुनाफा हिसाबमा सार्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसले जलविद्युत परियोजनामा लगानी गरेको बैंकहरुको नाफा बढ्नेछ । साथै, बैंकहरुको आम्दानीसँगै नाफामा समेत वृद्धि हुनेछ । यसअघि पूँजीकरण गरिएको ब्याजलाई छुट्टै आवाधिक कर्जा बनाएर उक्त कर्जा असुल भएपछि मात्रै आम्दानी जनाउने सकिने थियो ।