ऐतिहासिक धार्मिक पर्यटनका लागि एक पटक पुग्नैपर्ने स्याङ्जाको ‘गह्रौँ कालिका’


दसैँ नजिकिएसँगै स्याङ्जाको वालिङ नगरपालिका- ८ को गह्रौँ कालिका मन्दिर बेहुलीझैँ सजिएको छ । मन्दिरलाई सजाएपछि मात्रै स्थानीयलाई दसैँ आएको महसुस हुन्छ ।

गह्रौँ कालिका मन्दिरमा भक्तजनले वर्षैभरि दर्शन गर्न सक्ने भए पनि दसैँको अवधिमा फरक खालको रौनक देख्न सकिन्छ । यो समयमा मन्दिर दर्शनका लागि स्याङ्जाका मात्र नभई अन्य जिल्लाबाट पनि भक्ताजनहरू आउने गर्छन् । यो समयमा मन्दिरको दर्शनमात्र नभई घुम्न जाने पनि उत्तिकै देख्न सकिन्छ ।

समुद्र सतहदेखि करिब १ हजार ६ मिटर उचाइमा रहेको उक्त मन्दिरबाट आधा दर्जन जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । मनमोहक तथा रमणीय दृश्य अवलोकनका लागि निकै उत्तम मानिने गह्रौँ कालिकाको मन्दिर परिसरबाट पाल्पा, पर्वत, गुल्मी, कास्की तथा तनहुँ जिल्लाका विभिन्न भाग देख्न सकिने वालिङ नगरपालिकाका पूर्वमेयर दिलीपप्रताप खाँडले बताए ।

अध्ययन तथा रोजगारका लागि सहर पसेका आमसर्वसाधारण पनि दसैँको समयमा घर फर्केन गर्छन् । चाडबाड मनाउन र परिवारसँग रमाउन घर फर्किने स्थानीयले बुबाआमासँगै गह्रौँ कालिकाको पनि दर्शन छुटाउँदैनन् । त्यसैले पनि यो समयमा मन्दिरको रौनक नै बेग्लै खालको हुन्छ ।

मन्दिरको दर्शन तथा देवीसँग आशीर्वाद लिने, भाकल गर्ने, भाकल पूरा भएपछि पुनः देवीलाई दर्शन गरी देवीलाई चढाउँछु भनेको दान दक्षिणा तथा बलि दिनेको घुइँचो लाग्ने खाँडको भनाइ छ । मनोरम दृश्यका कारण मन्दिर दर्शनको बहानामा घुम्न आउने धेरै हुने गरेको खाँडले बताए ।

गह्रौँ कालिका मन्दिरको धार्मिक आस्थासँगै एतिहासिक महत्व पनि उत्तिकै छ । त्यसका साथै पर्यटकीय दृष्टिकोणबाट उक्त स्थानको पहिचान झनै बलियो गरी स्थापित भएको छ । बाइसे र चाैबिसे राज्यको समयमा राजासमेत बसेको स्थान हो यो । त्यसैले पनि तत्कालीन राजाले बनाएको टुँडिखेल तथा किल्ला पनि देख्न सकिन्छ ।

रमणीय स्थान भएकाले गह्रौँकोटे राजाले आफ्नो दरबार त्यही बनाएका थिए । गह्रौँकोटमा बस्ने राजा दशरथमात्र नभई उनका १३ पुस्ताको बसोबास नै त्यहीँ भएको इतिहास छ । धार्मिक पर्यटनसँगै इतिहास पनि जोडिएको गह्रौँ कालिकामा जीवनमा एक पटक पुग्नै पर्ने खाँडको सुझाव छ ।

१४०२ सालमा राज दशरथ खाँडले स्थापना गरेको उक्त मन्दिर हालसम्म २ पटक पुनर्निर्माण भइसकेको छ । देवीहरू श्री कुल र काली कुल गरेर २ प्रकारका हुने बताउँदै खाँडले भने, ‘गह्रौँ कालिका काली कुलकी देवी हुन् ।’

देवीले भक्तजनले मागेको पूरा गराउने जनविश्वास छ । खाँडका अनुसार दश महाविद्यामध्ये काली दुर्गा महाविद्याअन्तर्गत पर्छिन् । देवीलाई माला र मन्त्रद्वारा पुजिने बताउँदै खाँडले भने, ‘अष्टसिद्धिमध्येकी देवीको दर्शन गरे चिताएको पुग्ने मागेको कुरा पूरा हुने गर्छ ।’ वर्षैभरि खुला रहने मन्दिरमा औँसी, ग्रहण लागेको समयमा र सोहश्राद्धको अवधिमा भने पूजा हुँदैन ।

गह्रौँ कालिका मन्दिरनजिकै भगवती देवीको पनि मन्दिर भएकाले बलि दिने स्थान छुट्टै छ । बलिका लागि कालीकोट भन्ने स्थान प्रयोग हुन्छ । स्याङ्जाको वालिङबाट करिब ६ किलोमिटरको दुरीमा रहेको उक्त मन्दिर गह्रौँकोटका अन्तिम राजा श्रीभक्त खाँडले पछि पुनर्निमार्ण गरेका थिए । त्यसपछि त्यहीँका स्थानीय डोलराज शर्माको सक्रियतामा २०५३ सालमा पुनर्निर्माण गरिएको खाँडले बताए ।

‘डोलराज शर्माकै सक्रियतामा पुनर्निर्माण गरेर २०५३ सालमा तत्कालीन राजा वीरेन्द्रबाट उद्घाटन गरिएकाे हो,’ खाँडले भने, ‘शर्मा मन्दिर पूर्वाधार विकास समितिको अध्यक्ष नै हुनुहुन्छ ।’

त्यसपछि अहिले मन्दिर वरपर आवश्यक पूर्वाधार निर्माण गर्ने तथा मन्दिरसम्मको सडक बनाउने काम भएको छ । त्यसका लागि २०७५ सालमा मन्दिरलाई पर्यटकीय दृष्टिबाट स्थापित गर्ने उद्देश्यले पूर्वाधारहरू थप गर्न ‘मास्टर प्लान’ नै बनाएर काम गरेको खाँडको भनाइ छ ।

उक्त योजनाअनुसार मन्दिर वरपरको पूर्वाधार विकास गर्ने काम करिब पूरा भएको छ । ‘यो मास्टर प्लान कार्यान्वयन गर्न पनि डोलराज शर्माको मुख्य भूमिका रहेको खाँडले बताए । त्यसका साथै स्थायी बासिन्दाको पनि आर्थिक सहयोग भएको जानकारी उनले दिए ।

करिब ७ करोड रुपैयाँ बजेटको उक्त योजनाअन्तर्गत मन्दिर, प्रांगण, मण्डप, हुमन मण्डप, सौन्दर्य, पानी ट्यांकी, मन्दिर घेरेको राउन्ड सडक, मन्दिरसम्म पुग्ने सडक, १० वटा विशिष्ट कक्ष, सुरक्षा कक्ष, मन्दिरको कार्यालय, शाैचालय, हेलिप्याडलगायत पूर्वाधार छन् ।

विशिष्ट कक्ष ध्यान गर्ने वा अध्ययन तथा लेखनका लागि भनेर निर्माण गरिएको बताउँदै खाँडले भने, ‘हाल उक्त विशिष्ट कक्षमध्येका ८ कोठा तयार भइसकेको अवस्था छ ।’ मास्टर प्लान अनुसार निर्माण भएका नयाँ संरचनाको औपचारिक उद्‌घाटन यही असोज ३० गते बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्दाप्रसाद ढकालले गर्ने कार्यक्रम पनि तय भैसकेको उनले बताए । 

मन्दिर सञ्चालनका लागि गह्रौँकोट मन्दिर तथा पर्यटकीय समिति छ । दर्शनार्थीहरूले चढाएको दक्षिणा पनि मन्दिर परिसरको पूर्वाधार निमार्णका लागि प्रयोग हुन्छ । उक्त समितिको निर्देशक अर्थात् उक्त समितिलाई पूर्ण रूपमा सहयोग गर्ने व्यक्तिका रूपमा पनि डोलराज शर्मा नै रहेको खाँडको भनाइ छ । शर्मा वालिङ नगरपालिका वाड नं  ८ काफलडाँडाका स्थानीय हुन । उनी उद्योग व्यवसायको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । सिटी एक्सप्रेस मनी ट्रान्फरका अध्यक्ष रहेका शर्मा सिटिजन्स बैङ्कका संस्थापक सदस्य हुन । त्यसैगरी माउन्टेन इनर्जी नेपालका समेत संस्थापक रहेका शर्माको जन्म भुमि प्रतिको लगाव साँच्चिकै प्रशंसनीय छ । 

मन्दिर परिसरभित्र प्रहरी बिट तथा पुजारी भवन छ । मन्दिरमा जुनसुकै बेलामा पनि पुजाआजा तथा दर्शन गर्न सकिन्छ । तर, दसैँको समयमा भक्तजनको घुइँचो लाग्छ । दसैँको समयमा घटस्थापनादेखि पूर्णिमासम्ममा करिब १ लाख भक्तजनले मन्दिरको दर्शन गर्ने खाँडले बताए ।

वालिङदेखि मन्दिरसम्मको मुख्य सडक हालसम्म पनि कच्ची नै छ । त्यसलाई कालोपत्र गर्ने बजेट पनि आइसकेको बताउँदै खाँडले भने, ‘गत वर्ष नै पिच हुनुपर्ने थियो भएन । यो वर्ष पनि बजेट आएको छ । तर, काम अघि बढिसकेको अवस्था छैन ।’

तर मन्दिर वरिपरिको बाटोको भने कालोपत्रे भएको छ । मन्दिर जाने सहायक बाटो कालोपत्र भएको भए पनि वालिङदेखिको मूल सडक पनि यो वर्ष कालोपत्र हुन सक्ने खाँडले बताए ।

धार्मिक, पर्यटकीय र इतिहासको संयोजन बनेको गह्रौँ कालिका यतिबेला झनै घुम्न लायक बनेको छ । गह्रौँ कालिकालाई थप व्यवस्थित र धेरैभन्दा धेरै पर्यटक पुर्‍याउनका लागि सरकारी संयन्त्रले पनि ध्यान दिनुपर्ने दखिन्छ । धार्मिक पर्यटनको उच्च सम्भावना बोकेको गह्रौँ कालिकालाई थप प्रचार प्रसार गरेर आमसर्वसाधारणसम्म पुर्‍याउनु आवश्यक छ ।

प्रचार प्रचारको कमीका कारण लुकेको धार्मिक पर्यटनलाई बाहिर ल्याएर नेपालभरकै पर्यटक भित्राउने गरी काम गर्न जरुरी छ । त्यसका लागि पर्यटन मन्त्रालय तथा सरकारी संयन्त्रले विशेष पहल गर्नुपर्ने देखिन्छ ।