गाउँमा दसैँले छपक्कै छोपिसक्यो । सबैले घरमा लिपपोत गरी कमेरो लगाई दसैँलाई भव्य स्वागत गरिरहेका छन् । रामेछाप साँघुटार प्रायः सबै ठाउँमा दसैँको चहलपहल छ । सबै जना आफ्नो घर रंग्याउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । ढुंगा र माटोले बनेका घरलाई दसैँमा चिटिक्क बनाउन यसबेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त देखिन्छन् ।
परम्परा धान्नकै लागि भए पनि यहाँका स्थानीयले रातोमाटोले घर पोत्ने चलन छाडेका छैनन् । दसैँ नजिकिएसँगै दिनहुँजसो यहाँका रातोमाटो पाइने स्थानमा स्थानीयको भिड नै लागेको देखिन्छ ।
तर, रामेछाप साँघुटार निवासी राजन न्यौपानेलाई भने अझै दसैँले छोएको छैन । उनी अझै खेतबारीमै व्यस्त छन् । उनलाई दसैँ होइन, दसैँपछिका लागि सोच्नु छ ।
७ वर्षको उमेरमा बुबा गुमाएका उनले त्यतिबेलादेखि नै संघर्ष के हो थाहा पाए । बुबा गुमाएपछि आमा र दिदीबहिनीको जिम्मेवारी उठाउन सुरु गरेका उनले त्यतिबेला नै जीवन के हो बुझिसकेका थिए । एक छाक चामल खानका लागि गरेको संघर्ष उनको आँखामा अनि मनमा गहिरो गरी छापिएको छ ।
बुबाको निधनपछि आफूले नै हरेक कुराको जिम्मेवारी वहन गरेका उनले चाडबाडमा चामलको भात खान र खुवाउन गरेको मिहिनेत अहिले भन्दा निकै ठुलो रहेको बताउँछन् ।
दुःखपछि सुख हुन्छ भन्ने बुझेका उनले सानैमा धेरै हन्डर खाइसकेका थिए । भोगाइले नै उनले कसैले नपढेको कुरा पढेका थिए । परिवारको कहालीलाग्दो अवस्था देखेका थिए । त्यसैले हरहालतमा मैले पढ्नुपर्छ भन्ने कुरा उनको दिमागमा थियो ।
त्यसैले पनि होला, उनले नंग्रा खियाउन कुनै कसर बाँकी राखेनन् । अनि २० वर्षको उमेरमै उनी शिक्षक सेवा आयोगबाट भएको परीक्षामा नाम निकाल्न सफल भए । अनि परिवारमा पलायो– नयाँ आशा र हौसला । शिक्षक भए पनि उनले कृषि कर्म भने छाडेनन् । किनकि उनले अभाव र भोको पेट देखेका थिए । चामलको भात खान गरेको संघर्ष देखेका थिए, गरेका थिए । अहिले ५५ वर्षको उमेरमा पनि उनको उत्साह २२ वर्षको जत्तिकै छ ।
पछिल्लो समय शिक्षित जनशक्ति बढेसँगै नेपालमा कृषि पेसा गर्ने विरलै भेटिन्छन् । अहिले सन्तान खास गरी पढ्न भन्दै बिदेसिने र उनीहरूका अभिभावक पनि सँगै जाने प्रवृत्ति बढिरहेको छ ।
सन् २०२३ को तथ्यांकअनुसार साढे ७ लाख नेपाली श्रम गर्न बाहिर गएका छन् भने १ लाख १२\१५ हजार युवा पढ्न गएका रहेछन् । यसरी झन्डै ८\९ लाख मानिस त्यसरी गए जुन रेकर्डेड छन् । अनरेकर्डेड भएर भारतलगायत देशमा एकै वर्ष १८–२० लाख नेपाली गइरहेका छन् ।
गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा बिदेसिने क्रम बढेको बढ्यै छ ।
तर, राजन भने आफ्ना सन्तानलाई पनि विदेश होइन, स्वदेशमै केही गर्न सुझाव दिन्छन् । उनले अहिले ५ रोपनी क्षेत्रफलमा धान लगाइरहेका छन् । २ रोपनी क्षेत्रफलमा तरकारी लगाएका छन् ।
त्यति मात्र होइन । उनकै सहकार्यमा अहिले गाउँमै माछापालन पनि भइरहेको छ । उनी अहिले शिक्षण पेसामा मात्रै नभई कृषिसँगै अन्य सामाजिक काममा पनि सक्रिय रहँदै आएका छन् ।
प्रतिक्रिया