निर्यात उद्योगको बक्यौता अनुदान निकासा गराउने अर्थमन्त्रीको आश्वासन


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी उत्पादनका निर्यातकर्तालाई छिटै अनुदान वापतको रकम निकासा गर्ने आश्वासन दिएका छन् । सरकारले अनुदान रकम दिने भनेपनि निकासा नभएको भन्दै उद्योगीहरु अर्थमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

स्वदेशमा उत्पादित वस्तु निर्यातका लागि सरकारले गरेको अनुदानको व्यवस्था अनुरूपको रकम आर्थिक वर्ष २०७९।०८० देखि नै भुक्तानी नपाएको भन्दै उद्योगीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उद्योगीहरुसँगको भेटका क्रममा अर्थमन्त्री पौडेलले निर्यात अनुदान निकासा तत्काल गराउने आश्वासन दिएका हुन् ।

फेडरेशन अफ नेपाल एक्स्पोर्टर्स एशोसिएसनको तर्फबाट बुधबार उद्योगीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाइ भेटेर अनुदान रकम निकासाका लागि अनुरोध गरेको थियो । एशोसिएसनका अध्यक्ष पवन गोल्यानको नेतृत्वमा गएको टोलीलाई मन्त्री पौडेलले निकासा पाउनेमा विश्वस्त बनाएर पठाएका हुन् ।

भेटका क्रममा अर्थमन्त्री पौडेलले उद्योगीसँग छलफल गर्देै समस्याका बारेमा जानकारी लिएको र विषयलाई गम्भीरताका साथ लिँदै अनुदान निकासा गराउने आश्वासन पाएको चिया उद्यमी शान्ता वाँस्कोटाले बताइन् । व्यापार घाटा बढ्दै गएको सन्दर्भमा आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिको लागि राज्यले लिएको नीति अनुरूप काम गरेको तर अनुदानको समयमा भुक्तानी नहुँदा उद्योगी हतोत्साहित बनेको दुखेसो उद्योगीको छ । अर्थमन्त्री पौडेललाई बुझाइएको ज्ञापनपत्रमा सरकारको बजेटमा निर्यात अनुमतिको प्रावधान गरिएकाले उत्साहित बनेका उद्योगी समयमा सरकारले अनुदान निकासा नगर्दा समस्यामा परेको उल्लेख छ ।

ज्ञापन पत्रमा भनिएको छ, “समयमा अनुदान नपाउँदा आज उद्योग संचालनमा ठूलो मर्का पर्न गएको छ । यसबाट स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्यात गर्ने कृषिजन्य उद्योग, धागो तथा गार्मेन्ट जस्ता धेरै रोजगारी सृजना गर्ने उद्योग कलकारखानामा अत्यधिक लागत वृद्धि भएका कारणले हतोत्सित भइ रूग्ण हुने स्थितिमा पुगेका छन् ।”

देशको मेरूदण्डको रूपमा रहेका निर्यातजन्य उत्पादन गर्ने उद्योगको लगानी सुरक्षा तथा रूग्ण हुन नदिन पनि उद्योगीहरुले सरकारसँग आग्रह गरेका छन् । साथै उनीहरुले उद्योगको उत्पादनमा ह्रास आउन नदिन पनि सरकारसँग माग गरेका छन् ।

भेटका क्रममा अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष पर्याप्त बजेट निकासा नहुँदा समयमै अनुदान वापतको रकम भुक्तानी गर्न नसकिएको भन्दै अब डेटलाइन नै तोकेर निकासा गरिने प्रतिवद्धता जनाएका थिए ।