प्यारातालमा पूर्वाधार निर्माण गरिँदै


दोधारा चाँदनी । कञ्चनपुरको पुनर्वास नगरपालिका – ९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ताल परिसरमा पर्यटकलाई आकर्षण गर्ने संरचना निर्माण भइरहेका छन् । प्यारातालमा पर्यटकको आकर्षणका लागि यहाँका नागरिकले प्याराताल परिसर श्रङ्गार गर्ने काम गरिरहेका छन् ।

नागरिकहरुले स्वतःस्फूर्त रुपमा ताल परिसरमा विभिन्न प्रकारका कलात्मक आकृति निर्माण गरिरहेको प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए ।

“तालको जैविक पहिचानलाई उजागर गर्न र पर्यटकलाई आकर्षण गर्न ताल परिसरमा संरचना निर्माण भइरहेका छन् ।” उनी भन्छने, “नागरिकको स्वतःस्फूर्त सहयोगमा ताल परिसरमा सेल्फी प्वाइन्ट, माछाको प्रतिमा, कछुवाको प्रतिमा, दुर्लभ जलचर ओदको प्रतिमा राखिएको छ ।” उनका अनुसार ताल परिसरमा उक्त प्रतिमा लगायतका संरचना निमार्णका लागि विभिन्न व्यक्तिहरुबाट १६ लाख रुपैयाँ सङ्कलन भएको थियो ।

अध्यक्ष बस्नेत भन्छन्, “सामाजिक सञ्जालबाट सुरु भएको अभियानले अहिले ताल परिसर सजाउन देश विदेश करिब १६ लाख आर्थिक स्रोत जुटेको छ ।”, “त्यसैगरी ताल परिसरमा सजाउन गोही, मयुरको प्रतिमा, वाटर फाउन्टेन र आगन्तुकको मनोरञ्जनका लागि झुला निर्माण गरिएको छ । अहिले पनि जरायो र कमलको फूल निमार्णको काम भइरहेको छ ।” उनका अनुसार प्यारातालमा पछिल्लो समय धनगढी महेन्द्रनगर लगायतका क्षनेत्रबाट आन्तरिक पर्यटक आउने गरेको बताए ।

मनोरञ्जनका लागि प्याराताल उपयुक्त गन्तव्य भए पनि सरसफाइ र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने प्याराताल अवलोकन गर्न पुगेकाहरु बताउँछन् । “पर्यटकीय हिसाबले ताल महत्वपूर्ण छ यहाँ दुर्लभ जलचर, पक्षीसमेत देख्न पाइन्छ ।” प्याराताल अवलोकनका लागि पुगेका टेकबहादुर विश्वकर्माले भन्छन्,“ताल परिसरमा सरसफाइ, तालको संरक्षण र पूर्वाधार विकासमा सरकारले लाग्न जरुरी छ ।” ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोजस्थल बनाइएको छ, भने पुनर्वास नगरपालिकाको सहयोगमा पर्यटकको मनोरञ्जनका लागि झुला निर्माण गरिएका छन् । “अहिले प्यारातालमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।”

वडा सदस्य मणिनाथ बोगटी भन्छन्, “तालको संरक्षण र प्रवद्र्धनका लागि पालिकाले काम गरिरहेको छ ।” उनले ताल अवलोकनका लागि पछिल्लो समय दैनिक पाँच सय बढी आन्तरिक पर्यटक प्याराताल पुग्ने गरेको बताए । ५० देखि एक सय मिटरसम्मको चौडाइ भएको ६ किलोमिटर लामो यो ताल जैविक विविधताले भरिएको छ ।