ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती, तिहारमा ५ लाख आम्दानी गर्ने लक्ष्य


रामेछाप । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

पाँच रोपनीमध्ये तीन रोपनीमा उनले ड्रागन फ्रुट मात्रै लगाएका छन् भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेका छन् । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाएको छ ।

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गर्नुभएको थियो । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोपेका उनले त्यससँगै सयपत्री फूल पनि रोपेका हुन् ।

यसरी शाहीले एउटै जग्गाबाट अहिले दोहोरो लाभ लिइरहेका छन् । उनले सयपत्री बाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेका छन् । उनी भन्छन्, “लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ ।” आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उनको भनाइ छ ।

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए ।

साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका विरुवा उत्पादनका लागि ५ लाख अनुदान लिएको परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताए ।

आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ । उनी भन्छन्, “मेहनत गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ, सरकारले पनि सहयोग गर्छ, यसबाट कृषि क्षेत्रमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।”

उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौँसम्म जाने गरेको छ । उनले ड्रागन फ्रुट प्रतिकिलो ३५० रुपैयाँ र सयपत्री फूल प्रतिकेजी २५० रुपैयाँमा बिक्री सुरु गर्नुभएको छ । यस वर्षको तिहारमा सयपत्री बिक्रीबाट तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना शाहीको छ ।