ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्यो


ग्लोबल आइएमई बैंक लिमिटेडको नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, बैंकको सञ्चालन मुनाफा १९.४० प्रतिशतले बढेर २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यद्यपी, बैंकको खुद ब्याज आम्दानीमा १४.२२ प्रतिशतले गिरावट आएको छ । खुद ब्याज आम्दानी घटेतापनि पनि इम्पेरमेन्ट चार्ज घटेकोले नाफा वृद्धि भएको हो । तालु आवको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ ।

यता, बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा झरेको छ जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २१.१४ प्रतिशतले बढेर ८८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानीे ३ रुपैयाँ ३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।

असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ। चुक्ता पूँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ७ कात्तिक २०८१, बुधबार  ०७ : ५८ बजे