आयात ४ प्रतिशतले घट्दा व्यापार घाटा सुधारोन्मुख


चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालको आयात घटेसँगै चुलिएको व्यापार घाटा सुधारोन्मुख देखिएको छ । सो अवधिमा वस्तु आयात ४.१७  प्रतिशतले घटेसँगै व्यापार घाटा ३.९६ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख थियो भने चालु आवको सोही अवधिमा व्यापार घाटा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ रहेको छ । आयात पहिलो त्रैमासमा जसकारण गत आवको ३ महिनाको तुलनामा चालु आवमा व्यापार घाटामा ३.९६ प्रतिशत विन्दुको सुधार आएको हो ।

पहिलो त्रैमासमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको आयात भएको छ । यो अयात रकम गत आवको सोही अवधिको तुलनामा ४.१७ प्रतिशतले थोरै हो । गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस्तै साउनदेखि असोजसम्म ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको थियो । यसरी नेपालले गर्ने आयातमा मात्रै नभई निर्यातमा समेत ६.११ प्रतिशत विन्दुको गिरावट आएको छ ।

भन्सार विभागका अनुसार, असोज मसान्तसम्म नेपालले ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको कुल व्यापार गरेको छ भने गत आवको सोही अवधिमा नेपालको कुल व्यापार ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख बराबरको व्यापार गरेको थियो । यसरी नेपालको कुल व्यापार घाटा चालु आवमा ४.३५ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति: ७ कात्तिक २०८१, बुधबार  १६ : ४१ बजे