बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै


बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उनले बताए । उनले भने, “सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त भएकाले अब धमाधम काम हुन्छ । ”

बेलभन्ज्याङ– बानियाँटार सडकमा एक करोड रुपैयाँ, रिमाल्नी– भुडाटार जाने सडकमा ५० लाख रुपैयाँ, बन्दीपुर– ढाडखोला मोटरमार्गअन्तर्गत भुमर्से– हल्थुम्कासम्म तीन किमि सडक कालोपत्र, वडा २ कै सिमलटारमा ५० लाख रुपैयाँ, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा दुई करोड रुपैयाँ, वडा नम्बर ३ को कार्यालयदेखि रामकोटसम्म जाने सडकमा ५० लाख रुपैयाँको कालोपत्रको योजना सुरु भएको अध्यक्ष थापाले जानकारी दिए ।

यसैगरी, वडा नम्बर ४ को बन्दीपुर रिङरोडमा कालोपत्र तथा प्रहरी बिटबाट टँुडिखेल जाने बाटो कालोपत्र भएको छ । अध्यक्ष थापाले शहरी आयोजना मार्फत शिखरडाँडाबाट तल्लो डुम्रे जाने बाटो कालोपत्र भएको जानकारी दिए ।

वडा नम्बर ५ को याम्पा र थुम्काको बीचमा पाँच सय मिटर ढलान, तीनधाराबाट वडा नम्बर ५ को कार्यालय बाहुनभन्ज्याङ जाने सडकमा दुई करोड रुपैयाँको कालोपत्रको काम यथाशीघ्र सुरु गरिने थापाले जानकारी दिए । उनका अनुसार वडा नम्बर ६ को साँधभन्ज्याङबाट घमलछापसम्म दुई करोड रुपैयाँको बजेटमा कालोपत्र, वडा नम्बर ६ कै सराङघाटबाट भुतखोलासम्म एक करोड रुपैयाँको लागतमा बाटो स्तरोन्नति भइरहेको छ ।

सङ्घीय र गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ २० करोड रुपैयाँ बजेट प्राप्त भएको र उक्त बजेटबाट गाउँपालिकाका मुख्य सबै सडकमा कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति: ८ कात्तिक २०८१, बिहीबार  ०६ : ५१ बजे